भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक – काभ्रेको भुम्लु गाउँपालिकाका दुई वडामा करिब पाँच दशकदेखि रहँदै आएको लालपुर्जासम्बन्धी समस्या समाधानतर्फ अघि बढेको छ । हालसम्म ५३१ परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप करिब ५०० लालपुर्जा वितरणको तयारी भइरहेको छ ।

विसं २०३२ देखि सुरु भएको जग्गा नापीसम्बन्धी विवादका कारण भुम्लु गाउँपालिका (तत्कालीन भुम्लु र फलाँटे गाविस) का स्थानीयवासीले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्। पटक–पटक नापी टोली फर्किनु र जग्गा स्वामित्वबारे विवाद कायम रहँदा समस्या दशकौँसम्म समाधान हुन नसकेको हो ।

जिल्ला नापी कार्यालयका अनुसार प्रारम्भिक चरणमा वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । त्यसपछि क्रमिक रूपमा थप १०० लालपुर्जा वितरण गरिएको छ। हाल थप करिब ५०० लालपुर्जा वितरणका लागि तयारी भइरहेको छ ।

यसअघि जिल्लास्थित नापी तथा मालपोत कार्यालयमार्फत काम हुँदै आएकोमा अब बाँकी प्रक्रिया गाउँपालिकामै स्थापना गरिएको भूमि व्यवस्थापन शाखामार्फत अघि बढाइने भएको छ । यसका लागि गाउँपालिकामा शुक्रबार भूमि व्यवस्थापन शाखाको शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष प्रेम भुजेलले जानकारी दिए ।

उनका अनुसार आवश्यक परेमा नापी तथा मालपोत कार्यालयसँग समन्वय गरेर बाँकी काम अघि बढाइनेछ । शाखा सञ्चालनपछि जग्गा प्रशासन, कित्ताकाट लगायतका काम स्थानीय तहबाटै हुने अपेक्षा गरिएको छ ।

जिल्ला नापी कार्यालयका प्रमुख अशोककुमार भुसालका अनुसार विसं २०७१ देखि नापी टोली खटाएर काम सुरु गरिएको थियो भने २०७६ मा गाउँपालिकामै फिल्ड कार्यालय स्थापना गरिएको थियो। उनका अनुसार हालसम्म संकलित तथ्याङ्कअनुसार वडा नं ७ मा करिब ३०० र वडा नं ८ मा करिब ६०० लालपुर्जा आवश्यक पर्ने देखिएको छ ।

स्थानीय विवादका कारण २०३२ र २०३५ सालमा नापी कार्य प्रभावित भएपछि समस्या लामो समयसम्म जटिल बनेको थियो। पछि बसाइँसराइ, जग्गा बिक्री र कागजात अभावका कारण पनि काममा कठिनाइ देखिएको कार्यालयले जनाएको छ।

हाल प्रारम्भिक अध्ययनअनुसार करिब एक हजार परिवार समस्यामा रहेको देखिएको छ। तर हाल वितरण प्रक्रिया तीव्र बनाइएकाले दशकौँदेखिको समस्या समाधानतर्फ उन्मुख भएको स्थानीय तह र सम्बन्धित निकायले बताएका छन् ।