कर्णाली राजमार्गमा यात्रुवाहक गाडी कर्णाली नदीमा खस्यो, एक जनाको मृत्यु

काठमाडौं – कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेको गाडीमा प्रारम्भिक अनुमानअनुसार १४ जना सवार रहेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको यात्रुवाहक गाडी बिहीबार सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

दुर्घटनास्थलबाट हालसम्म एक जना पुरुषको शव फेला परेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई नदीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। उद्धार तथा खोजी कार्यका लागि ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ।

दुर्घटनाको कारण, घाइतेको अवस्था तथा अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।