साँगामा दुई लेनको अन्डरपास सञ्चालनमा, अरनिको राजमार्गको ट्राफिक जाम घट्ने अपेक्षा

काठमाडौं – भक्तपुर र काभ्रेपलाञ्चोकको सीमाक्षेत्र साँगामा निर्माण गरिएको दुई लेनको अन्डरपास आजदेखि सञ्चालनमा आएको छ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको अन्डरपास बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

कुल १ हजार ११० मिटर लम्बाइको अन्डरपास सञ्चालनमा आएसँगै अरनिको राजमार्गमा हुने ट्राफिक जाम न्यूनीकरण भई यात्रु तथा सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

आयोजनाका सब–इन्जिनियर ज्ञानमान श्रेष्ठका अनुसार अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक निर्माण गरिएको छ। अन्डरपासको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहेको छ भने संरचनाभित्रै २० मिटर लामो पुल पनि निर्माण गरिएको छ।

कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनालाई दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइएको थियो। आयोजना विसं २०७९ फागुनबाट सुरु भएको हो। प्रारम्भिक सम्झौताअनुसार ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि साँगा खण्डको अन्डरपासलाई प्राथमिकतामा राख्दै निर्माण कार्य निर्धारित समयअघि नै सम्पन्न गरिएको हो।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको कुल लागत करिब ८ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। सोही आयोजनाअन्तर्गत साँगा अन्डरपास र सडक स्तरोन्नतिका लागि उल्लेख्य बजेट विनियोजन गरिएको थियो।

अन्डरपास सञ्चालनमा आएसँगै राजधानी प्रवेशद्वार मानिने अरनिको राजमार्गमा सवारी चाप व्यवस्थापन, यात्रा समय घटाउने तथा सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।