राहदानी विभाग अगाडि आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे निधन भएको हो।

घटनापछि गम्भीर अवस्थामा रहेका नेपालीको उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले अस्थिर अवस्थामा बाहिर लैजान उपयुक्त नहुने सुझाव दिएपछि उक्त तयारी स्थगित गरिएको थियो।

वीर अस्पतालका चिकित्सकहरूले नेपालीको पहिलो शल्यक्रिया सम्पन्न भए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको अनुहार, टाउको, घाँटी तथा छातीका भागमा गम्भीर चोट पुगेको थियो।

चिकित्सकहरूले शरीरका बाह्य भागसँगै भित्री अंगहरूमा समेत असर पुगेकाले अवस्था अत्यन्त गम्भीर रहेको बताएका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।