माइतीघरमा सुकुम्बासीकाे प्रदर्शन

काठमाडौं — सरकारले सुकुम्बासीमाथि दमन गरेको आरोप लगाउँदै विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा संघ–संगठनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले भोग्नुपरेको कठिनाइ तथा सरकारले बल प्रयोग गरी नियन्त्रणमा लिएको घटनाको विरोधमा प्रदर्शन गरिएको आयोजकहरूले बताएका छन्। प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुकुम्बासीको उचित व्यवस्थापन र अधिकार सुनिश्चित गर्न माग गरेका थिए।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब तथा भूमिहीन नागरिकमाथि दमनकारी व्यवहार गरेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले सुकुम्बासीका माग सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने चेतावनी पनि दिए ।

प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्बासीमाथिको अन्याय अन्त्य गर्न, गैरन्यायिक पक्राउ बन्द गर्न तथा जनताको आवाज दबाउने कार्य रोक्न माग गरेका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सुकुम्बासी अधिकारसँग सम्बन्धित विभिन्न संघ–संगठन तथा अभियन्ताहरूको सहभागिता रहेको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

सुकुम्बासी व्यवस्थापन, पुनर्स्थापना तथा आवासको विषय लामो समयदेखि विवाद र बहसको विषय बन्दै आएको छ। सम्बन्धित पक्षबीच सहमति र संवादमार्फत समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग समेत प्रदर्शनकारीहरूले गरेका छन्।