सर्भरमा समस्या आएपछि एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवा स्थगित

ललितपुर — यातायात व्यवस्था विभागको सर्भरमा प्राविधिक समस्या देखिएपछि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) का अधिकांश सेवा प्रभावित भएका छन्।

विभागको ईडीएलभीआरएस (EDLVRS) प्रणालीमा आएको अवरोधका कारण कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि केही सेवा बाहेक अन्य सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ।

कार्यालयले सोमबार जारी गरेको सूचनामा प्राविधिक कारणले सेवा प्रवाहमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ।

कार्यालयका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण, असार २९ गतेका लागि निर्धारित लिखित परीक्षा तथा प्रयोगात्मक (ट्रायल) परीक्षा भने नियमित रूपमा सञ्चालन हुनेछन्।

तर नयाँ आवेदन दर्ता, वर्ग थप, लाइसेन्स नवीकरणलगायत अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ।

प्रणालीमा देखिएको समस्या समाधान भएपछि सेवा पुनः सञ्चालन गरिने र त्यससम्बन्धी जानकारी सार्वजनिक गरिने कार्यालयको भनाइ छ।

थप जानकारीका लागि सेवाग्राहीलाई कार्यालयको आधिकारिक वेबसाइट वा सम्पर्क नम्बरमार्फत जानकारी लिन आग्रह गरिएको छ।