काभ्रेपलाञ्चोक — रोशी खोलाको बहाव र सडक अवस्थाको मूल्याङ्कनपछि बीपी राजमार्गमा अस्थायी रूपमा रोकिएका सबै सवारी साधन सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार मंगलबार बिहानैदेखि राजमार्गमा सवारी आवागमन सुचारु गरिएको हो।
रोशी खोलाको जलाधार क्षेत्रमा सोमबार लगातार वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे र मंगलटार क्षेत्रमा सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको थियो।
हाल बीपी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। यद्यपि वर्षायामका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
प्रहरीले आवश्यक जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १००, ट्राफिक प्रहरीको नम्बर १०३ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गरी मात्र यात्रा गर्न अनुरोध गरेको छ।



