झापा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको यस आयोजनाको निर्माण कार्यले पछिल्लो समय उल्लेखनीय गति लिएको छ।
कुल ९५ किलोमिटर लामो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाको पछिल्लो विवरणअनुसार पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ।
पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। मौसम अनुकूल भए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको उनले बताए।
“निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ,” पन्तले भने, “वर्षायामका कारण केही चुनौती भए पनि निर्माण कार्यलाई निरन्तरता दिएका छौँ।”
पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले निर्माणको जिम्मेवारी सम्हालिरहेको छ। काँकडभिट्टा–सीतापुरी सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो। निर्माण कार्य २०८० माघ १९ गतेबाट सुरु भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत ऋण तथा नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको उक्त आयोजना सम्पन्न भएपछि पूर्वी नेपालका प्रमुख सहरहरू जोड्ने आधुनिक सडक पूर्वाधार निर्माण हुनेछ। सहरी क्षेत्रमा चार लेनको मुख्य सडक, बीचमा तीन मिटर चौडा डिभाइडर तथा दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको सडक संरचना निर्माण गरिनेछ।
आयोजना सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा यातायात सहज, सुरक्षित र व्यवस्थित बन्नुका साथै व्यापार, पर्यटन तथा क्षेत्रीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।



