सुर्खेतमा एलपी ग्यासको हाहाकार, दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेत — सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको छ। ग्यास पाउन स्थानीयहरू राति २ बजेदेखि नै खाली सिलिण्डर बोकेर डिलरसमक्ष लाइन बस्ने गरेका छन् भने एक–दुई दिनसम्म पालो कुर्दा मात्र भरिएको ग्यास प्राप्त हुने अवस्था रहेको छ।

विगतमा सहजै उपलब्ध हुने ग्यास अहिले अभाव हुन थालेपछि दैनिक जीवन प्रभावित बनेको स्थानीय बताउँछन्। अधिकांश परिवार खाना पकाउन एलपी ग्यासमै निर्भर रहेकाले अभावले झन् समस्या निम्त्याएको छ। सहरी क्षेत्रमा दाउरा वा अन्य वैकल्पिक इन्धन सहजै उपलब्ध नहुँदा उपभोक्ताको समस्या थप बढेको छ।

वीरेन्द्रनगर–९ की भविका चौधरीले चार दिनसम्म लाइन बसेपछि बल्ल ग्यास पाएको अनुभव सुनाउँदै भनिन्, “चुलो नबलेपछि चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलायौँ। आज बल्ल ग्यास पाइयो, ठूलो युद्ध जिते जस्तै लागेको छ।”

चौधरीजस्तै धेरै उपभोक्ताले ग्यास अभावका कारण दिनौँसम्म कठिनाइ भोग्नुपरेको छ। विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सहज पहुँच नभएका नागरिक बढी प्रभावित भएका छन्।

स्थानीय तीर्थबहादुर थापाका अनुसार ग्यासको पालो पर्खन बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता छ। “हामी आइतबार बिहान ५ बजेदेखि लाइनमा छौँ, अझै पालो आएको छैन। बेलुका खाली सिलिण्डर लिएर घर फर्किन्छौँ र भोलिपल्ट फेरि लाइनमा आउँछौँ,” उनले भने। उनका अनुसार राति लाइनमा राखिएका सिलिण्डरको सुरक्षाका लागि उपभोक्ताले प्रतिव्यक्ति २० रुपैयाँसमेत तिर्ने गरेका छन्।

यता नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगर क्षेत्रमा १७ हजार एलपी ग्यास सिलिण्डर वितरण गरिएको जानकारी दिए। उनका अनुसार यसअघि मासिक करिब २६ हजार सिलिण्डर वितरण हुने गरे पनि हालको माग अस्वाभाविक रूपमा बढेको देखिएको छ।

“सुर्खेतमा ग्यासको अभाव छैन, अभाव सिर्जना गरिएको हुन सक्छ,” प्रमुख घिमिरेले भने। उनले केही अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट ग्यास सङ्कलन गरी भण्डारण गरेको हुनसक्ने आशंका व्यक्त गर्दै यसबारे अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

कालिकोट घर भई हाल सुर्खेतमा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले पनि दुई दिनसम्म ग्यास खोज्दा नपाएको गुनासो गरे। उनले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई प्राथमिकताका साथ ग्यास वितरण गर्नुपर्ने माग गरे।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले प्रहरीको निगरानीमा ग्यास वितरण भइरहेको बताउँदै ग्यास अभावको वास्तविक कारणबारे अध्ययन भइरहेको जानकारी दिए। उनले सबै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण बनाउन प्रशासन प्रतिबद्ध रहेको बताए।

ग्यास अभावको समस्या समाधान नहुँदा सुर्खेतका हजारौँ उपभोक्ता दैनिक रूपमा लामो लाइन, अनिश्चित प्रतीक्षा र वैकल्पिक इन्धनको अभावको मारमा परिरहेका छन्।