करदाता प्रोत्साहन योजनाको पहिलो बम्पर नतिजा सार्वजनिक, २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। योजनाअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्।

विभागका अनुसार १० लाख रुपैयाँ बम्पर पुरस्कार विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही एक–एक लाख रुपैयाँको नगद पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पहिलो चरणका विजेताबारे औपचारिक जानकारी दिएको हो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम सुरु गरेको हो। उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।

यस योजनाअन्तर्गत प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार तथा १५ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

विभागले योजनामा सहभागी हुन prize.ird.gov.np नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। नेपालभित्र नगद भुक्तानी गरी एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी सक्कली बिल प्राप्त गरेका उपभोक्ताले उक्त वेबसाइटमा आफ्नो बिल अपलोड गरेर योजनामा सहभागी हुन सक्नेछन्।

यस्तै, क्यूआर कोडमार्फत गरिएको १०० रुपैयाँभन्दा बढीको भुक्तानी भने स्वतः प्रणालीमा समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल दर्ता गर्नुपर्ने छैन। विभागका अनुसार बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत गरिएको योग्य कारोबारको ट्रान्स्याक्सन नम्बर नै उपहार योजनाका लागि आधार मानिनेछ।