११ महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई भ्याइनभ्याइ

गोरखा – एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ। चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान गहुँ काट्ने, कुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त छन्।

चुमभ्यालीको छेकम गाउँका किसान दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने तथा कुट्ने र महिलाले केलाउने तथा थन्क्याउने काम गर्छन्। गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्ने, झाँट्ने तथा कुट्ने काम सुरु गरिन्छ।

गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको लामाले बताए । चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा रहेको छ।

स्थानीय प्रमुख लामा पासाङ फुञ्जोका अनुसार साइत जुराएर बाली भित्र्याउँदा गाउँमा सहकाल रहने जनविश्वास छ। चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली काटिँदैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली भित्र्याउने गरेका छन्।

भौगोलिक रूपमा गाउँहरू टाढा रहेकाले एक गाउँबाट अर्को गाउँमा पुग्न चार घण्टासम्म पैदल हिँड्नुपर्छ। दूरीको कठिनाइका बाबजुद गाउँलेहरू एकअर्काको खेतबारीमा बाली भित्र्याउन सहयोग गर्न पुग्ने गरेका छन्।

अबको एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ।

११ महिना लगाएर उत्पादन हुने गहुँ

चुमनुब्री गाउँपालिका–७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटरको उचाइमा अवस्थित छ। अत्यधिक चिसो हुने यस क्षेत्रमा गहुँ पाक्न ११ महिना लाग्ने गरेको छ।

प्रमुख लामा फुञ्जोका अनुसार चुमभ्यालीमा मुख्य रूपमा गहुँ, फापर र आलु खेती गरिन्छ। बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने स्थानीय चलन छ।

वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन गरिएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ। यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौं तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने गरेका छन्।

खेतीमा बढ्दै मेसिनको प्रयोग

हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग पनि बढ्दै गएको छ। चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिन प्रयोग गरी गहुँ काट्ने र कुट्ने गरेका छन्।

चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने तथा कुट्ने मेसिन रहेका छन्। मेसिनको प्रयोगले कठिन भौगोलिक क्षेत्रमा बाली भित्र्याउने काम केही सहज भएको छ।

चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग गरिन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन्। याक र नाकका लागि दाना तथा घरेलु मदिरा उत्पादनमा समेत गहुँ प्रयोग हुने गरेको छ।