काठमाडौं – सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले सरकारले ५०० दिनभित्र देशभरका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
सुकुम्बासी तथा भूमिहीन नागरिकसँगको भेटघाटका क्रममा मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट उठाइने वा डोजर लगाएर हटाइने त्रासमा नबस्न आग्रह गरिन् । कानूनसम्मत रूपमा लालपुर्जा पाउनुपर्ने नागरिकले लालपुर्जा पाउने उनकाे भनाइ छ।
“जसले लालपुर्जा पाउनुपर्ने हो, कानूनसम्मत तरिकाले उसले लालपुर्जा पाउँछ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन अव्यवस्थित बसोबासी सबैले लालपुर्जा पाउनुहुन्छ,” मन्त्री रावलले भनिन् ।
उनले भूमिहीन नागरिकमा पछिल्लो समय ‘वर्षौँदेखि भोगचलन गर्दै आएको ठाउँबाट उठाइदिने हुन् कि, डोजर लगाइदिने हुन् कि’ भन्ने त्रास देखिएको भन्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पारिन् ।
“म यहीँ आएर तपाईँहरूलाई किन निवेदन गरेँ भन्दा एउटा त्रासको वातावरण बनेको छ अहिले देशैभरिबाट। त्यस्तो होइन। त्यो कुरा म तपाईँहरूलाई आफैँ आएर क्लियर गर्न आएको हो,” उनले भनिन् ।
‘भूमिहीनको समस्या चुनावी फन्डा बन्न दिँदैनौँ’
मन्त्री रावलले भूमिहीनको समस्या चुनावी मुद्दा वा ‘फन्डा’ बन्न नदिने बताइन् । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै भूमिहीनको समस्या समाधानका लागि काम गरिरहेको उनकाे दाबी छ।
उनले नकारात्मक सूचीमा परेको जग्गाका विषयमा समेत आवश्यक कानुन तथा नीति परिवर्तन गरेर समस्या समाधान गर्ने विषयमा सरकारबाट काम भइरहेको जानकारी दिइन् ।
“अहिले झण्डै पाँच महिना भयो यो सरकार गठन भएको। म मन्त्रीको हैसियतले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यो समस्या समाधान गर्न काम गरिरहेको छु,” उनले भनिन् ।
भूमिहीनसँगै सहकारीपीडितका समस्यालाई समेत सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताइन् ।
उनले सरकारको पालामा देशैभरिका सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।
‘समस्या जटिल भएकाले केही समय लाग्छ’
मन्त्री रावलले भूमिहीनसम्बन्धी समस्या एउटै प्रकृतिको नभएकाले समाधानका लागि केही समय लाग्ने बताइन् । कानुनी अड्चन तथा विभिन्न प्रकृतिका समस्याका कारण सम्बन्धित निकायले छुट्टाछुट्टै ढङ्गबाट समाधान खोजिरहेको उनकाे भनाइ छ।
“विषय जटिल छ, संवेदनशील छ। कतिपय कानुनी अड्चन छन्। एउटै खालको समस्या छैन, विभिन्न खालका समस्याहरू छन्। विभिन्न खालका समस्यालाई विभिन्न तरिकाले समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले भनिन् ।
उनका अनुसार सम्बन्धित महिला समिति, जिल्ला समिति तथा भूमि समस्या समाधान समितिले पनि यस विषयमा काम गरिरहेका छन्। आफूले समेत सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिइरहेको उनले बताइन् ।
मन्त्री रावलले भूमिहीन नागरिकलाई केही समय धैर्य गर्न आग्रह गर्दै छिट्टै लालपुर्जा प्राप्त गर्ने वातावरण निर्माण हुने बताइन् ।
‘समस्या समाधान भएपछि मात्रै सम्मान गर्नुस्’
मन्त्री रावलले जनताको समस्या समाधान नगरी मन्त्री तथा नेताहरूलाई अबिर र खादा लगाएर सम्मान गर्न हतार नगर्नसमेत आग्रह गरिन् ।
उनले आफूलाई समेत समस्या समाधान भएपछि मात्रै सम्मान गर्न आग्रह गर्दै नेता तथा मन्त्रीले जनताको समस्या समाधान गरेपछि मात्र त्यस्तो सम्मानको हकदार हुने बताइन् ।
“तपाईँहरूकोमा जति पनि मन्त्री, जति पनि नेताहरू आउनुहुन्छ, अबिर, खादा लगाइदिन हतार नगर्नुस्। समस्या समाधान गरेर आएपछि म तपाईँहरूको अबिर खादा लगाउँछु,” उनले भनिन् ।
उनले कुनै पनि नेता, आफू आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता भए पनि समस्या समाधानअघि सम्मान गर्न हतार नगर्न आग्रह गरिन् ।
“पहिला तपाईँहरूको यत्रो वर्षौँदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ। त्यसपछि बल्ल त्यो नेताले, त्यो मन्त्रीले तपाईँहरूले दिएको खादा, अबिर र फूल लिन डिजर्भ गर्छ,” उनले भनिन् ।
सरकारले काम गरिरहेको भन्दै मन्त्री रावलले भूमिहीन नागरिकलाई नआत्तिन र धैर्य गर्न आग्रह गरिन् । अर्को पटक आफू उनीहरूबीच आउँदा समस्या समाधान गरेर अबिर र खादा ग्रहण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरिन् ।



