हेटौँडा उपमहानगरद्वारा ४८ योजना सम्पन्न

बागमती, फागुन १३ गते । हेटौँडा उपमहानगरपालिकाले चालूू आर्थिक वर्ष २०७९/९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो । बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन् । महानगरले आव २०७८/७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ । उपमहानगरले थप दुई स्थानको सडकमा आजदेखि स्ल्याब ढलान थालेको छ ।

आव २०७९/८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौँडा–१ लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौँडा–१२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ । उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिश समितिले एक सय ३२ योजनाको अनुगमन तथा मूल्याङ्कन फरफारका लागि सिफारिश गरेको छ । अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिश गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।

महशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौँडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि रु ३३ लाख ६६ हजार र अन्य जिन्सी समान उपलब्ध गराएर हेटाँैडा–१० टिसिएनमा रहेको तरकारी बजार चार महिना अगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताउनुभयो ।