नाडा अटो शो २०२६ आजदेखि, ५१ ब्राण्डका सवारीसाधन प्रदर्शनीमा

काठमाडौं — नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५१ ब्राण्ड सहभागी हुँदैछन्। तीमध्ये २२ वटा कार ब्राण्ड रहेका छन्।

प्रदर्शनीमा बीवाईडी, टाटा, सुजुकी, दीपल, अवतार, स्कोडा, जिली, एमजी, जीडब्ल्यूएम, ओमोडा, जेको, जेटोर, लीपमोटर र स्काइवेललगायत ब्राण्डका सवारीसाधन प्रदर्शनमा राखिनेछन्।

त्यस्तै, दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत ब्राण्डको सहभागिता रहनेछ।

विद्युतीय सवारीमा विशेष आकर्षण

नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला यस वर्षको नाडा अटो शोमा विभिन्न ब्राण्डका विद्युतीय कार तथा दुईपाङ्ग्रे सवारीसाधन मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

आयोजकले नयाँ प्रविधि, आधुनिक डिजाइन तथा विद्युतीय सवारीसाधनसहित अटोमोबाइल क्षेत्रमा भइरहेका नवीनतम विकासबारे उपभोक्तालाई जानकारी दिने गरी प्रदर्शनीलाई व्यवस्थित गरेको जनाएको छ।

सवारीसाधनबाहेक टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट कम्पनी पनि प्रदर्शनीमा सहभागी हुनेछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको समेत सहभागिता रहनेछ।

आयोजकका अनुसार यसपटकको अटो शो विगतका संस्करणभन्दा व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको छ।

नाडाको स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा नयाँ सवारीसाधन अवलोकन, प्रविधिबारे जानकारी तथा अटोमोबाइल बजारका पछिल्ला प्रवृत्तिबारे बुझ्न उपभोक्ता तथा व्यवसायीको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।