जलविद्युत् आयोजनामा बाढीको क्षतिपछि नेप्सेलाई धितोपत्र बोर्डको ५ बुँदे निर्देशन

काठमाडौं – देशका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना र पूर्वाधारमा क्षति पुगेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई ५ बुँदे निर्देशन दिएको छ।

धितोपत्रसम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) अनुसार जारी निर्देशनमा विपद्बाट प्रभावित सूचीकृत कम्पनीबारे लगानीकर्तालाई यथार्थ सूचना उपलब्ध गराउन, बजारको पारदर्शिता कायम गर्न तथा अस्वाभाविक कारोबार नियन्त्रण गर्न नेप्सेलाई निर्देशन दिइएको हो।

बोर्डले विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणालीलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित कम्पनीको अवस्था तत्काल यकिन गरी आवश्यक विवरण सार्वजनिक गर्न भनेको छ।

प्रभावित कम्पनीको विवरण सार्वजनिक गर्नुपर्ने

नेप्सेले विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित सूचीकृत कम्पनीको सूची तत्काल तयार गरी बोर्डलाई उपलब्ध गराउनुपर्नेछ। साथै सम्बन्धित कम्पनीसँग समन्वय गरी आयोजनाको अवस्था र क्षतिको विवरण सर्वसाधारण तथा लगानीकर्तालाई सार्वजनिक गर्नुपर्नेछ।

कम्पनीले सार्वजनिक गर्ने विवरणमा आयोजनाको नाम र स्थान, भौतिक क्षतिको अवस्था तथा विद्युत् उत्पादनको वर्तमान स्थिति समेट्नुपर्नेछ। त्यस्तै उत्पादन क्षमतामा परेको असर र मानवीय क्षतिसम्बन्धी विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ।

प्रसारण तथा वितरण पूर्वाधारको अवस्था, बीमा दाबीको स्थिति, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालनमा आउन सक्ने अनुमानित समय र बैंकिङ ऋण भुक्तानी क्षमतामा पर्न सक्ने असरबारे पनि जानकारी दिनुपर्नेछ।

त्यसैगरी क्षतिपछि कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमबारे समेत लगानीकर्तालाई जानकारी गराउनुपर्ने बोर्डको निर्देशन छ।

शेयर कारोबारमा कडा निगरानी

विपद्को अवस्थालाई आधार बनाएर हुन सक्ने अस्वाभाविक गतिविधि नियन्त्रण गर्न प्रभावित कम्पनीहरूको शेयर कारोबारमा विशेष निगरानी राख्न नेप्सेलाई निर्देशन दिइएको छ।

नेप्सेले प्रभावित कम्पनीको शेयर मूल्यमा हुने अस्वाभाविक परिवर्तन, कारोबारको असामान्य परिमाण तथा शङ्कास्पद खरिद–बिक्री आदेशलाई निगरानी गर्नुपर्नेछ।

त्यस्तै संवेदनशील सूचना सार्वजनिक हुनुअघि हुने सम्भावित भित्री कारोबार (इनसाइडर ट्रेडिङ) तथा बजारको निष्पक्षतामा असर पार्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन भनिएको छ।

विपद्का बेला सूचना प्रवाहको छुट्टै कार्यविधि बनाउन निर्देशन

बोर्डले भविष्यमा प्राकृतिक विपद्, आगलागी वा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने प्रभावलाई सम्बोधन गर्न छुट्टै कार्यविधि निर्माण गर्नसमेत नेप्सेलाई निर्देशन दिएको छ।

उक्त कार्यविधिमा विपद्का कारण प्रभावित कम्पनीले सूचना प्रवाह गर्ने प्रक्रिया, आवश्यक परेमा शेयर कारोबार रोक्का गर्ने अवस्था तथा कारोबार पुनः सञ्चालन गर्ने प्रक्रियालगायत विषय समेट्नुपर्नेछ।

यस सम्बन्धमा भएका प्रगति तथा प्रभावित कम्पनीहरूको अवस्थाबारे बजार अनुगमन प्रतिवेदन नियमित रूपमा बोर्डमा पेस गर्नसमेत नेप्सेलाई भनिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि सम्बन्धित कम्पनीहरूको उत्पादन, आम्दानी, ऋण भुक्तानी क्षमता र वित्तीय अवस्थामा पर्न सक्ने असरबारे लगानीकर्तामा अन्योल बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै बोर्डले यस्तो निर्देशन दिएको हो।