काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र पीडा नभएको बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो ।”
बाढीमा परेका नागरिकको अवस्था सम्झिँदा आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै, उनले भने, “बाढीमा परेका नागरिकहरूको कारुणिक चीत्कार सुन्दा मेरो छाती चिसो हुन्छ।”
उनले विपद्को समयमा सरकार विश्राम गरेर बस्ने अवस्थामा नरहेको बताउँदै उद्धार, राहत र पुनःस्थापनालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
“सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ,” प्रधानमन्त्री शाहले भने।
३ हजार ९१६ जना अझै सम्पर्कविहीन
प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताएका छन् । उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
प्रधानमन्त्री शाहले बाढीमा परी १ हजार ११४ जनाको शव फेला परेको र तीमध्ये ९५ जनाको सनाखत गरी परिवारलाई बुझाइएको जानकारी दिए । उनले सम्पर्कविहीन नागरिकको खोजी कार्य जारी रहेको बताउँदै “कोही कतै छुट्नुहुनेछैन” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले भदौ १० गते बिहान ८ः४५ बजे भोटेकोशीमा भीषण बाढी आएको सूचना प्राप्त भएलगत्तै सरकारले उद्धार तथा राहतका लागि तत्काल कदम चालेको बताए । बिहान ९ बजे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको, ९ः१५ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइएको र ९ः४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको उनले जानकारी दिए ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकायलाई खोज, उद्धार, उपचार तथा राहतमा परिचालन गरिएको उनकाे भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार बाढीबाट घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकीको उपचार भइरहेको छ ।
१५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा
बाढीपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्री शाहले बताए ।
मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने, घाइते तथा जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने र त्यसका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै घाइतेको निःशुल्क उपचार, घरबार गुमाएकालाई सुरक्षित स्थानमा राखेर खाने–बस्ने व्यवस्था तथा अवरुद्ध विद्युत्, दूरसञ्चार, सडक र खानेपानी सेवा तत्काल सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।
राहत कोषमा ७ अर्बभन्दा बढी
प्रधानमन्त्री शाहका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ ।
मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उक्त कोषबाट रु १ अर्ब निकासा गरिएको थियो । निकासा भएको रकममध्ये रु ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहमा पठाइएको उनले जानकारी दिए ।
१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
बाढी आएको भोलिपल्ट साँझसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसकेका थिए ।
प्रधानमन्त्री शाहका अनुसार ६९ वटा उडानमार्फत ३५१ जनाको हवाई उद्धार गरिएको थियो । उद्धारमा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको थियो ।
नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जना प्रभावित नागरिकलाई राखिएको पनि उनले जानकारी दिए ।
४३१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
भोटेकोशी बाढीले विद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको प्रधानमन्त्री शाहले बताए ।
उनले अनुसार विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजना गरी २८१ मेगावाट तथा निर्माणाधीन ४ वटा आयोजना गरी ३८८ मेगावाट क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनले जानकारी दिए ।
नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको उनले बताए ।
४८ झोलुङ्गे र ३१ मोटरेबल पुलमा क्षति
बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको र तीमध्ये २० वटा मर्मत गर्न सकिने तथा २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री शाहले बताए ।
त्यसैगरी ३१ वटा मोटरेबल पुल बाढीले बगाएको उहाँले जानकारी दिनुभयो । दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको र थप २० स्थानमा बेलिब्रिज राख्ने सम्भाव्यता अध्ययन भइरहेको उनकाे भनाइ छ ।
कृष्णभीर भदौभित्रै सञ्चालनमा ल्याइने
बाढीका कारण क्षतिग्रस्त कृष्णभीर सडक खण्ड भदौ महिनाभित्रै मर्मत गरी सञ्चालनमा ल्याइने प्रधानमन्त्री शाहले बताए ।
पृथ्वी राजमार्ग तथा गल्छी–बेत्रावती–रसुवागढी सडकमा बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उहाँले अवरुद्ध सडक खुलाउन सरकार प्राथमिकताका साथ लागिरहेको बताए ।
जलवायु परिवर्तनले बढाउँदैछ हिमाली जोखिम
प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढी हिमाली क्षेत्रमा हिमपहिरोबाट सिर्जित ठूलो विपद्का रूपमा विज्ञहरूले औँल्याएको बताए ।
उनका अनुसार यस घटनाले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ । नेपालले जलवायु परिवर्तनबाट भोग्नुपरेका यस्ता विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने उनकाे भनाइ छ ।
प्रधानमन्त्री शाहले सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीन नागरिकको तत्कालीन र दीर्घकालीन पुनःस्थापनामा सरकार निरन्तर लागिरहने बताए ।
“कोही कतै छुट्नुहुनेछैन,” उहाँले भन्नुभयो ।



