भोटेकोशी र त्रिशूलीमा आज पनि बाढीको उच्च जोखिम

काठमाडौँ – भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाकी बाढीविद् सरस्वती विष्टका अनुसार माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा जलसतह बढ्न सक्ने अवस्था छ।

उनले भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।

महाशाखाले कोशी तथा बागमती क्षेत्रका विभिन्न जिल्लाका स–साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

मध्यम जोखिममा रहेका जिल्लामा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पा रहेका छन्।

त्यस्तै, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, डुबान हुन सक्ने स्थान र कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।