भोटेकोशी बाढीमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन, मृतकको संख्या १ हजार २५२ पुग्यो

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना छन् । त्यस्तै भन्सार कार्यालयका १४, अध्यागमनका तीन, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ नेपाली सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना पनि सम्पर्कविहीन छन् । यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तहका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षकको अवस्था अज्ञात रहेको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन् ।

बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार १३५ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले उपचार सेवा पाएका छन् । हाल ३ हजार ९४८ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकता दिएको छ । सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ । बुधबार मात्रै २५ वटा उडान गरिएको थियो । निजी क्षेत्रबाट समेत १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहतमा सहयोग पुगेको प्राधिकरणले जनाएको छ ।

चार हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेकाले सुरक्षा निकायले खोज तथा उद्धारलाई थप तीव्र बनाएको छ । सडक सम्पर्कविहीन क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पुर्‍याउने कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ ।