पाल्पा – पाल्पामा चालु आर्थिक वर्षको दुई महिनामै २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौमा २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार पछिल्ला वर्षको तुलनामा संक्रमणको अवस्था उतारचढावपूर्ण रहे पनि पाल्पामा डेङ्गुको जोखिम कायमै छ। आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।
पछिल्लो दुई महिनामै २५५ जनामा संक्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको देखाएको स्वास्थ्यकर्मीको भनाइ छ।
वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले संक्रमणको जोखिम बढ्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तनसँगै डेङ्गु परीक्षणको दायरा विस्तार भएकाले पनि संक्रमणको संख्या बढी देखिएको बताए ।
उनका अनुसार पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि संक्रमण भएका व्यक्तिको पहिचान हुने क्रमसमेत बढेको छ। पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीमा डेङ्गु संक्रमण देखिएको छ। निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत डेङ्गुको परीक्षण हुँदै आएको छ।
स्वास्थ्यकर्मीका अनुसार डेङ्गु सार्ने एडिस जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा फूल पार्ने गर्छ। फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्नु प्रभावकारी उपाय हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
डेङ्गु संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालयले सचेतना तथा रोकथामका कार्यक्रमलाई तीव्रता दिएको छ। कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी पैरवी र अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ।
कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको संख्या बढ्ने र डेङ्गुको जोखिमसमेत उच्च हुने भएकाले घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेङ्गुसहित लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगबाट बच्न सकिने बताउँदै वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।
उनले लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने तथा घरका झ्याल–ढोकामा लामखुट्टे नछिर्ने जाली प्रयोग गर्न सुझाव दिए ।
त्यस्तै घर, कार्यालय, विद्यालय तथा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न तथा खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्न उनले आग्रह गरे । गमलाका प्लेट, फूलदानी, कुलरलगायत पानी जम्न सक्ने भाँडामा रहेको पानी कम्तीमा सातामा एकपटक फेर्नसमेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।



