इरानसँग युद्ध जिते तेलको मूल्य घट्ने ट्रम्पको दाबी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।

मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै ट्रम्पले युद्धपछि ऊर्जा बजार स्थिर हुने बताएका हुन् । उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिएका छन् ।

ट्रम्पको भनाइको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । उनले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्न सक्ने बताए ।

यसैबीच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिएका छन् । उनले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताएकाछन् ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्याङ्कर इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताएका छन् ।

अमेरिकाले युद्धमा विजय हासिल गर्ने र त्यससँगै ऊर्जा मूल्य घट्ने दाबी गरिरहँदा इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । दुई देशबीच बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।