काठमाडौँ – हरितालिका तीजका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा घुइँचो लागेको छ। भदौरे झरीका बीच पनि व्रतालुहरू लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्।
हरितालिका व्रत बसेका महिलाको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराई दर्शन गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरिएको छ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार मित्रपार्कतर्फबाट आउने भक्तजनका लागि मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गराउने व्यवस्था गरिएको छ। सो मार्गबाट आउने भक्तजनलाई पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने प्रबन्ध मिलाइएको छ।
त्यस्तै, जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि जयवागेश्वरीबाट दायाँतर्फको मार्ग हुँदै दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार र महास्नानघरअघिको नं. १ ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी तथा नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुलसम्म पुग्ने व्यवस्था गरिएको छ। त्यहाँबाट प्रहरी पहरा गणको सानो ढोकामार्फत दुई लाइनमा भक्तजनलाई पशुपतिनाथ मन्दिरको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था छ।
सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने दर्शनार्थीका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोकाबाट प्रवेश गराई राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनालसम्म पुर्याउने व्यवस्था गरिएको छ। त्यसपछि पूर्वढोकामा राखिएको र्याम्पबाट पशुपतिनाथको पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट बाहिरिने प्रबन्ध मिलाइएको कोषले जनाएको छ।
पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पिङ्गलास्थानको ढोकाबाट प्रवेश गराई चार शिवालय, पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वरतर्फ लैजाने व्यवस्था गरिएको छ। सो मार्गबाट मन्दिरको दक्षिण मुहारको दर्शन गराएपछि उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको बाटो हुँदै भक्तजनलाई बाहिर निकाल्ने व्यवस्था मिलाइएको छ।
बिहानको समयमा दर्शनार्थीले लाममा बसेको करिब आधा घण्टामै पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको कोषले जनाएको छ। बिहानैदेखि परेको झरीका बाबजुद पनि व्रतालु भक्तजन उत्साहपूर्वक लाममा बसेर दर्शन गरिरहेका छन्।
तीज पर्वलाई लक्षित गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। कोषका अनुसार आज करिब चार हजार सुरक्षाकर्मी तथा २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक परिचालन गरिएको छ।
दर्शनार्थीका लागि चन्दन वितरणको समेत व्यवस्था गरिएको छ। सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको प्रबन्ध मिलाइएको कोषले जनाएको छ।
हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा मात्रै नभई देशभरका शिवालयमा समेत बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायतका शिवालयमा पनि महिला व्रतालु तथा दर्शनार्थीको लाम लागेको जनाइएको छ।



