गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको भीड

काठमाडौं – विघ्नहर्ता तथा अग्रपूजाको अधिकार प्राप्त भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीसहित देशका प्रमुख गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । सोही मान्यताअनुसार आज गणेशको जन्मोत्सवका रूपमा गणेश चतुर्थी पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ ।

शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताएका छन् । उनका अनुसार हरितालिका तीजको व्रत तथा पारायणपछि गणेशको व्रत गर्ने शास्त्रीय परम्परा रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख, शान्तिको कामना गर्दै व्रत बसेका भक्तजनले चतुर्थीका दिन जीवनमा कुनै पनि विघ्न नआओस् भन्ने कामनासहित गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको उनले बताए ।

मंगल चतुर्थीसमेत भनिने आजको दिन नेवार समुदायले ‘चथा पर्व’का रूपमा मनाउने गर्छन् । चथा पर्वका अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ । यस वर्ष गणेश चतुर्थी मंगलबारकै दिन परेकाले पर्वको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरूले बताएका छन् ।

गणेश चतुर्थीका अवसरमा विभिन्न गणेश मन्दिरमा विशेष पूजा, आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरिएको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय धर्मसभाले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । यस अवसरमा आज विभिन्न गणेश मन्दिरमा पुगेर संस्थाका तर्फबाट पूजा आराधना गर्ने कार्यक्रमसमेत रहेको छ ।

राष्ट्रिय धर्मसभाले विसं २०६५ देखि नै गणेश रथयात्रा पनि गर्दै आएको छ । सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन गरिने रथयात्रा यस वर्ष भने भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेको हुँदा आजै आयोजना गरिँदैछ ।

गणेशको पूजा आराधना तथा रथयात्रामा सहभागी हुन राजधानीलगायत विभिन्न स्थानमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । भक्तजनले विघ्नहर्ता गणेशको पूजा गरी परिवारमा सुख, शान्ति, समृद्धि तथा जीवनमा आउने बाधा–अड्चन हटोस् भन्ने कामना गरिरहेका छन् ।