काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ भने आगामी असोज १ गतेदेखि उक्त खण्डमा पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीबाट क्षतिग्रस्त कृष्णभीर सडकखण्ड भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयको पहलमा सडक विभागले ट्रयाक खोल्ने काम अघि बढाएको हो ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक तथा सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार बाढीबाट सडकमा क्षति पुगेपछि मन्त्रालयले तत्काल प्राविधिक अध्ययन अघि बढाएको थियो । सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको सहयोगमा चार दिनसम्म स्थलगत अध्ययन गरेपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारेका थिए ।
विभागले विज्ञहरूको सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो । त्यसपछि पहाडको करिब ३५ मिटर उचाइको भाग काट्दै भित्रतर्फ २० मिटरसम्म खनेर नयाँ ट्रयाक निर्माण गरिएको पौडेलले बताए ।
“विभागले विज्ञहरूबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो । कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, उनले भने ।
ट्रयाक निर्माणका क्रममा प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेका थिए । काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधनलाई परीक्षणका रूपमा उक्त सडकखण्डबाट सञ्चालन गरिएको हो ।
हाल बिहान र बेलुकाको समयमा अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन अहिले ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडक संरचनालाई थप मजबुत बनाउने काम भइरहेको छ ।
आयोजना संयोजक पौडेलका अनुसार भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी छ ।
नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः सडक अवरुद्ध हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखिएको छ । पहिरो खसेमा तत्काल हटाउन आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको पौडेलले बताए ।
पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने सम्भावनालाई ध्यानमा राखेर थप ग्राभेल सामग्रीसमेत मौज्दात राखिएको छ । पहाडभित्रबाट पानी सिपेज भएर सडकमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न सतही पानी निकासको व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था भइरहेको विभागले जनाएको छ ।
कृष्णभीरमाथिको पहाडमा केही चिरासमेत देखिएकाले ती चिराबाट पानी भित्र पस्न नदिन पनि आवश्यक तयारी भइरहेको छ । उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी चिरा सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइने विभागको भनाइ छ ।
कृष्णभीरको जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक मार्गका रूपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर सडकमा समेत ट्रयाक खोल्ने काम अघि बढाइएको छ । उक्त सडकलाई यात्रुवाहक सवारीसाधन वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयार पारिँदैछ ।
नयाँ ट्रयाकमा रातिको समयमा यात्रा सुरक्षित बनाउन सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गर्ने तयारीसमेत गरेको छ । सडकमा टल्किने स्टिकरलगायत ट्राफिक सुरक्षा सामग्री राखिनेछन् ।
निर्माण कार्य जारी रहेकाले हाल बिहान करिब ६ देखि ७ बजेसम्म र बेलुका ६ देखि ७ बजेसम्म सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ । अत्यावश्यक अवस्थामा निर्माण कार्य केही समय रोकेर सवारीसाधनलाई पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने उक्त सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले सुरक्षा पर्खाल भत्काएपछि उक्त सडकखण्डबाट यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढीबाट अवरुद्ध सडकलाई भदौभित्रै सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धताअनुसार नयाँ ट्रयाक निर्माण गरी यातायात पुनः सञ्चालन गर्न लागिएको हो ।



