पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनवटै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा प्रवक्ता जगदीश खरेलले सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए ।

‘पार्टी सभापतिज्यूले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यी तीनवटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ खरेलले भने ।

सचिवालय बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेको प्रवक्ता खरेलले बताए ।

उनका अनुसार पार्टीका नेता, सांसद र समर्थकले पार्टीको अनुशासन तथा जिम्मेवारीलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

रास्वपाले पार्टी संगठन, संसदीय गतिविधि र सरकार सञ्चालनबीच समन्वयलाई प्रभावकारी बनाउने विषयलाई बैठकमा प्राथमिकताका साथ उठाएको हो।