प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै छन् । प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन लागेकाहुन् ।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।

महासभाको उच्चस्तरीय बहसलाई प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु परिवर्तन, जलवायु न्याय, न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेका जलवायुजन्य क्षति तथा पर्वतीय मुलुकका सरोकारका विषय उठाउने तयारी रहेको छ । हालैको भोटेकोशी बाढीबाट भएको क्षति र जलवायु परिवर्तनका असरलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायलगायत सरकारी अधिकारीहरू न्युयोर्क जानेछन् । परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगिसक्नुभएको छ । उहाँले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भएर सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो । उनले २०२६ मार्च २७ मा नेपालको प्रधानमन्त्रीको पद सम्हालेका थिए ।