राँझा – बाँकेको राप्ती नदी तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र जमिन कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा प्रभावित क्षेत्रका बासिन्दाले समस्या समाधान गर्ने उम्मेदवारलाई मात्रै मतदान गर्ने बताएका छन् ।
राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले बर्सेनि डुबान र कटानको समस्या झेल्नुपरेको गुनासो गर्दै यसपटक नदी नियन्त्रणका लागि ठोस योजना ल्याउने उम्मेदवारलाई मात्रै भोट दिने बताए । “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातमा राम्ररी निदाउन पनि सकिन्न,” उनले भने, “अब आश्वासन होइन, नदी नियन्त्रणको काम गर्ने उम्मेदवार चाहिन्छ ।”
स्थानीयले चुनावका बेला घरघरमा आएर भोट माग्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । नेपाल–भारत सीमा नजिक भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण राप्ती तटीय क्षेत्रमा बर्सेनि बाढी र डुबानको समस्या बढेको उनीहरूको भनाइ छ ।
राप्ती नदी तटीय क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ का राप्तीसोनारी र नरैनापुर तथा निर्वाचन क्षेत्र नं २ का डुडुवा गाउँपालिकाका मतदाताले खेतीयोग्य जमिन कटान र डुबानको समस्यालाई चुनावी मुद्दा बनाउन माग गरेका छन् ।
डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले राप्ती नदीबाट हुने डुबान र कटानका कारण स्थानीय धेरै पीडित भए पनि हालसम्म ठोस पहल नभएको बताए । राप्तीसोनारी–७ झगडिया गाउँका दीपेन्द्र पाण्डेले नदी नियन्त्रणका लागि तटबन्ध नहुँदा बाढी बस्तीमा पस्ने जोखिम बढेको उल्लेख गरे ।
राप्तीसोनारी–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले बाढीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मतदान गर्ने बताए । “अन्य विकास गर्दै जाऔँला, तर बस्ती डुबान र कटानबाट जोगाउन अब जनप्रतिनिधि गम्भीर बन्नुपर्छ,” उनले भने ।
स्थानीयका अनुसार हरेक निर्वाचनमा नदी नियन्त्रणको आश्वासन दिए पनि काम नहुँदा वर्षायाममा बाढीले जग्गा कटान र डुबानको समस्या दोहोरिँदै आएको छ । बाँकेमा राप्ती नदी कटान नियन्त्रणका लागि प्रस्तावित पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा जोखिम कायमै रहेको छ ।



