पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईकाे नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पोखरा अवतरण गर्ने विमानलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको निरौलाले बताए । उनका अनुसार विमानस्थल सञ्चालनमा आएपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि नियमित उडान सुरु हुन लागेकाले विमानस्थल व्यवस्थापन उत्साहित छ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा पोखराबाट दुबई प्रस्थान गर्ने यात्रु तथा पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीका अनुसार भन्सार नियमानुसार गर्नुपर्ने सम्पूर्ण कामको तयारी पूरा भएको छ। राजस्व सङ्कलन, वैध व्यापार सहजीकरण, यात्रुको जाँचपास तथा निकासी–पैठारीका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन बन्ने अपेक्षा गरिएको बताए। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरालाई अन्य अन्तर्राष्ट्रिय सहरसँग जोड्नसमेत यो उडान उपयोगी हुने उनकाे भनाइ छ।

“फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” श्रेष्ठले भने।

नेपाली युवाहरू रोजगारी तथा अध्ययनका लागि दुबई जाने क्रम बढिरहेकाले पोखराबाट सिधा उडान सुरु हुँदा उनीहरूलाई समेत सहज हुने श्रेष्ठले बताए।

यसैबीच पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने र यसले पोखराको पर्यटन तथा व्यावसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।