नेपालको भोटेकोशी बाढीले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको छ : महासचिव गुटेरेस

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला वर्षहरूमा देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम झन् गम्भीर बन्दै गएको पुष्टि गरेको बताए ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेको र त्यसको सबैभन्दा ठूलो असर नेपालसहित हिमाली मुलुकमा परेको बताए ।

उनले तापक्रम वृद्धिसँगै हिमनदी तीव्र गतिमा पग्लिने क्रम बढिरहेको उल्लेख गर्दै यो क्रम नरोकिए विश्वले अझ ठूलो समस्या सामना गर्नुपर्ने चेतावनी दिए । नेपालको भोटेकोशी बाढीजस्ता पछिल्ला विपद्ले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरेको उनकाे भनाइ थियो।

गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गरे। उनले त्यतिबेला आफूले दिएको चेतावनीलाई कतिपयले अतिरञ्जित ठाने पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको बताए।

“तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ”, उनले भने, “त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।”

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय मात्र नभई वर्तमानको वास्तविकता बनिसकेको स्पष्ट गरे। विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनुपरेको उनले उल्लेख गरे।

उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले क्षतिपूर्ति, न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने बताए।

“जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन”, गुटेरेसले भने, “विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु।”

उनले जलवायु अनुकूलनका लागि उपलब्ध वित्त तीन गुणा वृद्धि गर्न तथा हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न पनि आह्वान गरे।