लमजुङ – पछिल्लो चार दिनको निरन्तर वर्षापछि आएको बाढीपहिरोले बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक खुलाउने तथा भत्किएका संरचनाको मर्मत सुरु गरिएको छ । सडकमा एकैपटक धेरै स्थानमा क्षति पुगेकाले पूर्णरुपमा सञ्चालनमा ल्याउन भने करिब एक साता लाग्ने अनुमान गरिएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकमा मुख्य रुपमा तीन स्थानमा ठूलो क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना–ठूला गरी दर्जनौँ पहिरो खसेका छन् । कतिपय स्थानमा सडक भासिएको छ भने केही ठाउँमा मस्र्याङ्दी नदीले सडक कटान गरेको छ ।
“अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ”, उनले भने, “पूर्णरुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।”
उनका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । उक्त स्थानमा सडक खुलाउने तयारी भइरहेको छ भने रामबजार आसपासका साना–साना अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो खसेको छ । पहिरोमा रहेका ठूला ढुङ्गा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको विष्टले बताए । कोत्रो क्षेत्रमा पनि मस्र्याङ्दी नदीले सडक कटान गरेको छ । सो क्षेत्रमा रहेका दुईवटा काठे पुलसमेत बाढीले बगाएको छ ।
सडक खुलाउन आयोजनाले अहिले दुईवटा डोजर परिचालन गरेको छ । थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी भइरहेको छ । तीनवटै डोजर परिचालन गरेर सडक खुलाउने तयारी गरिएको विष्टले बताए । सडक खुलाउने काममा सहयोगका लागि जलविद्युत् आयोजनाहरूसँग समेत सहयोग मागिएको छ ।
सडकका केही स्थानमा भएको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने आयोजनाले जनाएको छ । विसं २०७८ मा बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक लामो समय अवरुद्ध भएको स्मरण गर्दै विष्टले अहिले धेरै ठाउँमा एकैपटक क्षति भएकाले सडक पूर्णरुपमा सञ्चालनमा ल्याउन समय लाग्ने बताए ।
करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडकमा क्षति पुगेपछि मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको छ ।
मनाङमा खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थप गम्भीर हुन सक्ने विष्टले बताए ।



