वर्षाले फेरि थला पार्‍यो बिपी राजमार्ग, स्थायी पुनर्निर्माणमा पनि चुनौती

काठमाडौं – लगातारको वर्षासँगै आएको पहिरो र रोशी नदीको कटानका कारण ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ। अवरोध हटाउने काम सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

डिभिजन सडक कार्यालय, भक्तपुरको टोली बिहानैदेखि सडक सञ्चालनका लागि परिचालन भएको छ। मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि उक्त खण्डमा यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको अधिकारीले बताए ।

बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या यसपटक पनि दोहोरिएपछि राजमार्गको स्थायी पुनर्निर्माणमा थप चुनौती देखिएको छ। २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले काभ्रे खण्डमा ठूलो क्षति पु¥याएपछि राजमार्ग अहिले स्थायी पुनर्निर्माणको चरणमा छ। सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।

तर, ती डाइभर्सन वर्षायाममा हिलो र घाम लाग्दा धुलो हुने तथा कतिपय स्थानमा साँघुरा र जोखिमयुक्त भएकाले यात्रामा सहजता आउन सकेको छैन। राजमार्गमा नियमित सवारी चलाउँदै आएका चालक विनोद दाहालका अनुसार डाइभर्सनका कारण सवारीसाधन सञ्चालनमै कठिनाइ हुने गरेको छ।

“सडक बगेको ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा हिलो र धुलोको सास्ती त छँदैछ, बाटोको बेहाल अवस्थाका कारण साना गाडीले जताततै भुइँ छुन्छन्। गाडी त बिग्रन्छ नै, यात्रुको ज्यानको जोखिम मोलेर यात्रा गराउनुपरेको छ,” उनले भने ।

राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाले पनि सडकको अस्थायी व्यवस्थाका कारण सास्ती खेप्नुपरेको बताएका छन्। रोशी गाउँपालिका–११ कालढुङ्गाका स्थानीय बुद्ध लामाका अनुसार बाढीले बस्ती र सडक दुवैमा ठूलो क्षति पुर्‍याको थियो।

“हाम्रो घरआँगन भएर जाने यो सडक नै हाम्रो जीवनको मुख्य आर्थिक आधार थियो। तर बाढीले बस्ती र सडक दुवै तहसनहस बनायो। अहिले अस्थायी डाइभर्सनबाट जसरी तसरी यातायात चले पनि धुलो, हिलो र फेरि पानी पर्दा आउने बाढीको त्रास कायमै छ,” उनले भने।

उनले यस क्षेत्रको स्थायी समाधानका लागि छिटो र बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

स्थानीय सरकारको तर्फबाट पनि पुनर्निर्माणलाई तत्कालीन मर्मतमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित बनाउनुपर्ने माग उठेको छ। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर आगामी दिनमा जोखिम कम हुने गरी संरचना निर्माण गर्नुपर्ने बताए ।

“बिपी राजमार्ग पुनर्निर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक छ। राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बलियो संरचना बनाउनै पर्छ,” उनले भने ।

दुई वर्षमा सडक पुनर्निर्माण गरिसक्ने दाबी गरेको सरकारले स्थानीयका सुझावलाई समेत ध्यानमा राखेर प्राविधिक अध्ययनका आधारमा काम अघि बढाउनुपर्ने उनकाे भनाइ छ। उनले कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्याक नै परिवर्तन गरी सुरक्षित भूभागबाट लैजानुपर्ने विकल्पसमेत अघि सारेका छन् ।

चार प्याकेजमा पुनर्निर्माण

नागरिकको सास्ती र स्थानीय तहको चासोबीच सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गको पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ।

डिभिजन सडक भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशका अनुसार बर्खेखोलादेखि भकुण्डेबेँसीसम्मको २५.११ किलोमिटर सडक चार प्याकेजमा निर्माण भइरहेको छ।

प्याकेज–१ अन्तर्गत बर्खेखोला–पिप्ले ३.२२ किलोमिटर सडक खण्ड जाइका अनुदान सहयोगमा निर्माण भइरहेको छ। यसका लागि जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ भने कन्सल्टेन्टका रूपमा निप्पोन कोइ को लिमिटेड तथा याहियो इन्जिनियरिङ कर्पोरेसन जेभी रहेको छ। उक्त खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्याकेज–२ अन्तर्गत पिप्ले–डालाबेसी २.३० किलोमिटर सडक खण्ड निर्माणका लागि उमा एन्ड कम्पनी/भण्डारी अमर ज्योति जेभीसँग ठेक्का सम्झौता भएको छ। रु एक अर्ब २१ करोड लागत अनुमान गरिएको उक्त खण्ड रु ६८ करोड ८० लाख ४० हजारमा सम्झौता भएको हो। हालसम्म उक्त खण्डको ४० प्रतिशत भौतिक प्रगति भएको छ।

त्यस्तै, प्याकेज–३ अन्तर्गत डालाबेसी–चारसयबेसी ८.५० किलोमिटर सडक खण्ड खानी/ए वान/कमल जित जेभी काठमाडौंले निर्माण गरिरहेको छ। रु दुई अर्ब ४५ करोड लागत अनुमान गरिएको उक्त खण्ड रु एक अर्ब ४२ करोडमा सम्झौता भएको हो। हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको डिभिजन प्रमुख योगेशले जानकारी दिए ।

प्याकेज–४ अन्तर्गत चारसयबेसी–भकुण्डेबेँसी ११.०९ किलोमिटर सडक खण्ड लामा/नव कान्तिपुर जेभी काठमाडौंले निर्माण गरिरहेको छ। रु दुई अर्ब ५२ करोड लागत अनुमान गरिएको उक्त खण्ड रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ। हालसम्म यसको ३५ प्रतिशत भौतिक प्रगति भएको छ।

बाढी–पहिरो रोक्न संरचना थपिँदै

सडकलाई बाढी तथा पहिरोबाट सुरक्षित बनाउन विभिन्न प्राविधिक संरचना निर्माणलाई समेत प्राथमिकता दिइएको छ। उच्च जोखिम भएका क्षेत्रमा आरसीसी क्यान्टिलिभर वाल निर्माण भइरहेको डिभिजन प्रमुख योगेशले बताए ।

कूल छ हजार ३०० मिटर लामो आरसीसी क्यान्टिलिभर वालमध्ये हालसम्म तीन हजार ७६० मिटर निर्माण सम्पन्न भएको छ। माइक्रोपाइलतर्फ एक हजार १४५ मिटरको काम शतप्रतिशत सम्पन्न भएको छ।

त्यस्तै, पाँच हजार ७४० मिटर प्लम कङ्क्रिटमध्ये दुई हजार १८९ मिटर अर्थात् ३८ प्रतिशत र पाँच हजार ९०० मिटर स्टोन मसनरीमध्ये चार हजार १०५ मिटर अर्थात् ७० प्रतिशत काम सम्पन्न भएको छ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिन जोखिमयुक्त स्थानमा न्यूनतम ४.५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेल स्तरको सडक तयार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सम्भावित आकस्मिक अवरोध तथा पहिरो तत्काल पन्छाउन चौकीडाँडा, कटुन्जेबेसी, चारसयबेसी, गिम्तिबेसी–नार्के, चिउरीबास–बोक्सिकुना, कालढुङ्गा, डालाबेसी र सुक्खा पहिरोलगायतका स्थानमा १३ एक्स्काभेटर, छ लोडर र ११ टिपर तयारी अवस्थामा राखिएका छन्।

तर स्थायी पुनर्निर्माण अघि बढिरहँदा अस्थायी डाइभर्सनमा भने बाढीको जोखिम कायमै छ। २०८२ असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनमा पुनः क्षति पुर्‍याएको थियो। चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएका डाइभर्सनमा सडक डिभिजन कार्यालय भक्तपुरले करिब रु १० करोड खर्च गरेको थियो। रोशी खोलाको बाढीले ती डाइभर्सनका विभिन्न भाग बगाएपछि राजमार्ग पुनः प्रभावित भएको थियो।

यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सन कटान गरेको छ। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेसी, वडा नं ८ गिम्दीबेसी र वडा नं ११ माम्तीमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेपछि काठमाडौंँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै होल्ड गरिएको छ। अहिले खुर्कोट–भकुण्डेबेँसी खण्ड बन्द हुनु पनि यही वर्षात्, पहिरो तथा नदी कटानबाट सिर्जित अवरोधकै परिणाम हो।

बिपी राजमार्गको पुनर्निर्माणमा तत्काल सडक सञ्चालनमा राख्नु र दीर्घकालीन रूपमा सुरक्षित बनाउनु दुवै चुनौती बनेका छन्। बाढीले भत्काएको सडक पुरानै अवस्थामा फर्काउने मात्र नभई भविष्यमा हुने विपद्को जोखिम घटाउने गरी संरचना निर्माण गर्नुपर्ने अवस्था छ।

२०८१ सालको बाढीले सडकमा ठूलो क्षति पुर्‍यायो, २०८२ सालको बाढीले अस्थायी डाइभर्सनको सीमितता देखायो र २०८३ सालको वर्षाले पुनः डाइभर्सन कटान तथा पहिरोको समस्या दोहो¥याएको छ। यहीबीच राजमार्गको स्थायी पुनर्निर्माणका विभिन्न प्याकेजमा काम अघि बढिरहेको छ।

एकातर्फ पुनर्निर्माणका संरचना थपिँदै छन् भने अर्कोतर्फ वर्षा, बाढी र पहिरोले अस्थायी संरचनाको कमजोरी पटक–पटक देखाइरहेको छ। यात्रु हिलो र धुलोको सास्ती खेपिरहेका छन्, चालक जोखिमबीच सवारी चलाइरहेका छन् र स्थानीय सुरक्षित सडकको प्रतीक्षामा छन्। त्यसैले निर्माणाधीन संरचना समयमै सम्पन्न गर्नुका साथै जोखिमयुक्त स्थानमा दीर्घकालीन समाधान खोज्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।