काठमाडौं – भारतबाट खाना पकाउने एलपी ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन थालेका छन्। अविरल वर्षाका कारण चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज हुने भएको हो।
गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र सडक अवरोधका कारण काठमाडौंका लागि ग्यास आपूर्ति प्रभावित भएको थियो। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै भित्रिने भएकाले राजमार्ग अवरुद्ध हुँदा ग्यासका बुलेटसमेत बाटोमै रोकिएका थिए।
राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका ग्यास बुलेटहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बाटो खुलेसँगै सोमबार मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौं आउँदै छन्। साँझसम्म यो सङ्ख्या अझै बढ्ने र बाटोमा रोकिएका बाँकी बुलेटसमेत क्रमशः काठमाडौं भित्रिने निगमले जनाएको छ।
प्रवक्ता ठाकुरका अनुसार काठमाडौं भित्रिएका ग्यास बुलेटबाट मंगलबारदेखि बोटलिङ प्लान्टमा ग्यास भर्ने काम तीव्र रूपमा अघि बढाइनेछ। त्यसपछि ग्यास सिलिन्डर बजार तथा सर्वसाधारणसम्म पुर्याएर नियमित वितरण गरिनेछ।
मुख्य राजमार्ग सञ्चालनमा आएसँगै ग्यासका बुलेटहरू निरन्तर काठमाडौं भित्रिन थालेकाले बजारमा देखिएको ग्यास अभाव क्रमशः हट्दै जाने नेपाल आयल निगमले जनाएको छ।



