बाँके – बाँकेको राप्ती नदीमा निर्माण गरिएको पक्की तटबन्धका कारण नदी तटीय क्षेत्रका बस्ती सुरक्षित हुँदै गएका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि निर्माण गरेको पक्की तटबन्धले वर्षौँदेखि डुबान र कटानको जोखिममा रहेका बस्तीमा त्रास र अनिश्चितता घटाउँदै आशा र भरोसा बढाएको छ।
राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएपछि सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबास सुरक्षित बनेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा मात्रै बाँकेका विभिन्न जोखिमयुक्त स्थानमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको छ। राप्ती नदीको तीव्र बहावका कारण हरेक वर्ष उर्वर भूमि कटान हुने र बस्ती विस्थापित हुने अवस्था रोक्न आयोजनाले उच्च प्राथमिकताका साथ नदी नियन्त्रणका संरचना निर्माण गर्दै आएको उनले बताए ।
गत आवमा राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा एक हजार २०० मिटर र वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर पक्की तटबन्ध निर्माण गरिएको छ। त्यस्तै वडा नं ७ खल्ला झगडियामा ५०० मिटर र वडा नं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको छ।
तटबन्ध निर्माण भएपछि यस वर्ष राप्तीसोनारी–२ का कचनापुर, महादेवा र मदुई, वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्ला झगडिया तथा नरैनापुर गाउँपालिका–५ र ६ अन्तर्गतका गाउँ बाढीको प्रकोपबाट जोगिएका छन्।
आयोजनाअन्तर्गत गत आवमै राप्तीसोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कामसमेत गरिएको आयोजना प्रमुख छत्कुलीले बताए ।
“यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धका लागि ढुङ्गा जम्मा गर्ने काम भएको छ,” उनले भने, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन्।”
तटबन्ध निर्माण हुनुअघिसम्म राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए। सामान्य वर्षा हुँदा पनि नदी बस्तीतर्फ पस्ने जोखिमका कारण स्थानीयवासी रातभर नसुती जाग्राम बस्नुपर्ने अवस्था थियो।
तर, यस वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धले नदीको बहावलाई सुरक्षित किनारतर्फ मोडेपछि अवस्था बदलिएको स्थानीयले बताएका छन्। केही दिनअघि परेको भारी वर्षा र राप्ती नदीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया तथा नरैनापुर–५ र ६ का गाउँ सुरक्षित रहेको राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।
“खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ,” वडाध्यक्ष थारूले भने, “पहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ।”
विगतका वर्षमा निर्माण गरिएका संरचनाले सकारात्मक परिणाम दिएपछि आयोजनाले चालु आर्थिक वर्षमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिएको छ। आयोजना प्रमुख छत्कुलीका अनुसार नयाँ चरणका तटबन्ध निर्माणका लागि अहिले निर्माणस्थलमा ढुङ्गा सङ्कलन तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।



