काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना दिएकी छन् ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ रहेको उल्लेख गर्दै उनले दीर्घ जीवनलाई उमेरको निरन्तरताका रूपमा मात्र बुझ्न नहुने बताएकी छन् । उनका अनुसार ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदान समाजको अमूल्य सम्पदा हो ।
बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको मन्त्री बादीले बताइन् ।
संविधान तथा प्रचलित कानूनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र मर्यादित बनाउन राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
डिजिटल प्रविधिको प्रयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्ने अवधारणासहित अनुभव बैंकलाई अघि बढाइने उनीले बताइन् । यसबाट ज्येष्ठ नागरिकका अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने आधार तयार हुने उनकाे भनाइ छ ।
यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा अन्य विपद्का कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति मन्त्री बादीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार, राहत, संरक्षण तथा पुनर्स्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
“ज्येष्ठ नागरिकलाई केवल संरक्षणको विषयका रूपमा नभई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” मन्त्री बादीको सन्देशमा उल्लेख छ ।
ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकारलाई व्यवहारमा रूपान्तरण गर्दै उहाँहरूको जीवनलाई सुरक्षित, मर्यादित, सक्रिय र अर्थपूर्ण बनाउन सरकार, परिवार, समुदाय तथा सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको मन्त्री बादीले बताइन् ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हरेक वर्ष अक्टोबर १ मा विश्वभर मनाइँदै आएको छ ।



