६० वर्षयताकै ठूलो बाढीमा पनि गैँडाकोट का बस्ती जोगाए तटबन्धले

नवलपुर, – नारायणी नदीमा ६० वर्षयताकै ठूलो बाढी आउँदासमेत नवलपुरको गैँडाकोटका अधिकांश बस्ती सुरक्षित रहे । विगतका वर्षमा तुलनात्मक रूपमा सानो बाढी आउँदासमेत डुबान र कटानको जोखिम झेल्दै आएका स्थानीय यसपटक नदीमा ठूलो बाढी आउँदा पनि घरमै सुरक्षित बस्न पाए । स्थानीयका अनुसार नदीकिनारमा निर्माण गरिएको तटबन्धले बस्ती र खेतीयोग्य जमिन जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

गत असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोटका अधिकांश वडामा क्षति पुर्‍याउन सकेन । नारायणी पुलको उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा वडा नं. २ को एउटा बस्ती डुबानमा परेको थियो । तर पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धका कारण अन्य नदीतटीय बस्ती सुरक्षित रहेको स्थानीयको बुझाइ छ ।

गैँडाकोटका मनोज परियारका अनुसार नदीकिनारमा ठूला ढुङ्गा राखेर निर्माण गरिएको तटबन्धले बाढीको प्रभाव कम गर्न मद्दत गरेको हो । नदीको छाल तटबन्ध नाघेर घरसम्म आइपुगे पनि ढुङ्गा र तटबन्धका कारण ठूलो क्षति हुनबाट जोगिएको उनले बताए ।

“नदीकिनारमा ठूलाठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो”, परियारले भने, “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो । यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।”

विगतका वर्षमा नारायणीमा बाढी आउँदा नदीकिनारका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा जानुपर्ने अवस्था थियो । यसपटक भने ठूलो बाढी आउँदासमेत तटबन्धका कारण ढुक्कसँग घरमै बस्न पाएको स्थानीयको अनुभव छ ।

गैँडाकोट–६ का ४१ वर्षीय राजेन्द्र थापाले नदी व्यवस्थापनको काम भएपछि कटान रोकिएको र बस्ती सुरक्षित भएको बताए । “अघिल्ला वर्षमा नदीमा बाढी आउँदा किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर हिँड्नुपर्ने अवस्था थियो”, उनले भने, “यस वर्ष नारायणीमा ठूलो बाढी आए पनि हामी ढुक्कसँग घरमै बस्न सक्यौँ ।”

नदी कटानका कारण वर्षौंदेखि जोखिममा रहेका स्थानीयका लागि तटबन्धले राहत दिएको छ । विगतमा नारायणीको बाढीले खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गर्ने र बस्ती नै जोखिममा पार्ने गरेको थियो । अहिले नदीकिनारमा व्यवस्थित तटबन्ध निर्माण भएपछि कटानको जोखिम कम भएको स्थानीयको भनाइ छ ।

स्थानीय खगीसरा रानाले विगतमा बाढीका बेला रातभर सुत्न नसकिने अवस्था रहेको स्मरण गर्दै नदी व्यवस्थापनको कामपछि सुरक्षित महसुस गर्न थालेको बताए । अघिल्ला वर्षका बाढीले आफ्नो जग्गासमेत कटान गरेर सखाप पार्न लागेको उनले सुनाए ।

“नारायणीको बाढीले मेरो पनि जग्गा लगभग काटेर सक्यो”, नदीकिनारमा बस्तीभन्दा अग्लो पारेर बनाइएको तटबन्ध देखाउँदै रानाले भने, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउँथ्यो होला ।”

नदी कटान रोकिएपछि आधा चिन्ता कम भएको र अब बाढीका कारण उठिबास लाग्ने डर घटेको उनकाे भनाइ छ ।

पाँच किलोमिटर तटबन्ध निर्माण

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२/८३ मा नवलपुरतर्फ नारायणी नदीकिनारमा व्यवस्थित तटबन्ध निर्माण गरेको थियो । गैँडाकोटको वडा नं. २, ५, ६, ७ र ९ को भूभाग नदीकिनारमा पर्ने भएकाले ती क्षेत्रका बस्ती र खेतीयोग्य जमिनलाई कटान तथा डुबानबाट जोगाउन तटबन्ध निर्माण गरिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले बहुवर्षीय ठेक्कामार्फत नदीकिनारमा तटबन्ध निर्माणको काम सम्पन्न गरेको गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष शुभाष चापागाईँले बताए । उनका अनुसार नदीकिनारमा करिब एक हजार ५०० मिटर बिग बोल्डर अर्थात् ठूला ढुङ्गाको तटबन्ध र करिब पाँच किलोमिटर कङ्क्रिट तटबन्ध निर्माण गरिएको छ ।

“नदीकिनारलाई भिरालो बनाउँदै गरिएको पक्की तटबन्धका कारण बस्ती जोगिन सफल भएको हो”, चापागाईँले भने, “गैँडाकोटमा गरिएको तटबन्ध नेपालकै नौलो र नयाँ प्रयोग भएको मैले जानकारी पाएको छु ।”

बस्तीभन्दा अग्लो पारेर निर्माण गरिएको तटबन्धले नदीको बहाव बस्तीमा पस्न नदिँदा यसपटक ठूलो बाढीबाट समेत उल्लेख्य क्षति हुन नपाएको उनकाे भनाइ छ । यद्यपि कङ्क्रिट तटबन्ध निर्माण गरिएका केही स्थानमा बाढीले क्षति पुर्‍याएकाले ती संरचनाको मर्मतसम्भार र थप व्यवस्थापन आवश्यक रहेको चापागाईँले बताए ।

जल मापन केन्द्र देवघाटका अनुसार असोज ११ गते नारायणी नदीको जलसतह बढेर ११ दशमलव ९३ मिटर पुगेको थियो । उक्त बाढीलाई पछिल्लो ६० वर्षयताकै ठूलो भनिएको छ । नदीकिनारमा बस्तीभन्दा अग्लो र व्यवस्थित रूपमा तटबन्ध निर्माण गरिएकाले गैँडाकोटका अधिकांश नदीतटीय बस्ती डुबान र कटानबाट जोगिन सफल भएको स्थानीयको निष्कर्ष छ ।

विगतमा बाढीको त्रासमा रात बिताउनुपर्ने अवस्था भोगेका गैँडाकोटवासीका लागि यसपटकको अनुभवले नदी व्यवस्थापन र तटबन्ध निर्माणको महत्त्व उजागर गरेको छ । बाढीले केही स्थानमा संरचनामा क्षति पुर्‍याए पनि तटबन्धले अधिकांश बस्ती सुरक्षित राखेको स्थानीयको भनाइ छ । अब बाँकी जोखिमयुक्त क्षेत्रमा समेत नदी व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने र क्षति पुगेका संरचनाको समयमै मर्मत गर्नुपर्ने आवश्यकता देखिएको छ ।