निजी प्रदायकले सस्ता प्याकेज रोके पनि टेलिकमले भन्यो : इन्टरनेट शुल्क बढ्दैन

काठमाडौं – निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका तथा कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि नेपालमा इन्टरनेट सेवा महँगिने हो कि भन्ने बहस सुरु भएको छ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले बढ्दो सञ्चालन खर्चका कारण गत सोमबारदेखि सस्ता प्याकेज उपलब्ध गराउन नसक्ने जनाएको छ ।

मध्यपूर्वमा बढेको तनावपछि इन्धनको मूल्यवृद्धि, फाइबरको मूल्य बढ्नु, उच्च मुद्रास्फीति तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै विद्युतीय चिपसेटको मूल्य बढेका कारण सेवा प्रदायकको सञ्चालन खर्चसमेत धान्न कठिन भएको सङ्घको भनाइ छ । त्यसपछि निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका प्याकेजको बिक्री रोक्ने घोषणा गरेका हुन् ।

सस्तो प्याकेज बन्द हुने निर्णयसँगै विशेषगरी न्यून आय भएका उपभोक्ता इन्टरनेट सेवाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने आशङ्का बढिरहेका बेला सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भने आफूले उपलब्ध गराउँदै आएका प्याकेज तत्काल बन्द नगर्ने स्पष्ट पारेको छ ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले कम्पनीले हाल सञ्चालन गरिरहेका इन्टरनेट प्याकेज निरन्तर रहने र तत्काल मूल्य बढाउने कुनै योजना नरहेको बताए ।

“टेलिकमले ग्राहकलाई जुन प्याकेज बिक्री गरिरहेको छ, त्यो निरन्तर रूपमा चल्छ । अहिले मूल्य बढाउने सोच छैन । टेलिकमले ग्राहकलाई उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरको छ,” उनले भने।

प्रवक्ता लामिछानेका अनुसार अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले वार्षिक तथा दुई वर्षका फाइबर इन्टरनेट प्याकेज तुलनात्मक रूपमा सस्तो दरमा उपलब्ध गराउँदै आएको छ । फाइबर इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले मोबाइलमा दैनिक ६०० देखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउने सुविधा पनि कम्पनीले दिएको छ । एक महिना र तीन महिनाका प्याकेजसमेत सञ्चालनमा छन् ।

हाल टेलिकमले घरायसी ग्राहकका लागि एक वर्षको ५० एमबिपिएस इन्टरनेट रु आठ हजार ४९९ मा उपलब्ध गराइरहेको छ । दुई वर्षको सेवा एकैपटक लिँदा भने रु १४ हजार ९९९ तिर्नुपर्ने हुन्छ । वार्षिक शुल्क एकैपटक भुक्तानी गर्दा ग्राहकले दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, ७५ एमबिपिएसको वार्षिक शुल्क रु १० हजार ४९९, १०० एमबिपिएसको रु ११ हजार ४९९, १५० एमबिपिएसको रु १२ हजार ९९९ र २०० एमबिपिएसको रु १६ हजार ४९९ तोकिएको छ ।

दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा एक वर्षको प्याकेजमा प्राप्त हुने सुविधाको तुलनामा झन्डै १५ प्रतिशत सहुलियत हुने टेलिकमको दाबी छ । कम्पनीका अनुसार फाइबर इन्टरनेटसँगै मोबाइल डाटा तथा विभिन्न छुटलाई जोड्दा ग्राहकका लागि इन्टरनेटमा हुने वास्तविक खर्च अझ न्यून पर्न जान्छ ।

टेलिकमका अनुसार गत साउन मसान्तसम्म फाइबर इन्टरनेट जोड्ने ग्राहकको सङ्ख्या चार लाख दुई हजार ११० पुगेको छ । फाइबर सेवा ७७ जिल्लाका झन्डै ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ भने सेवा विस्तारको काम जारी छ ।

इन्टरनेट जडान प्रक्रियालाई समेत सहज बनाइएको टेलिकमले जनाएको छ । ग्राहकले इन्टरनेट जडानका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहेको र १९८ नम्बरमा फोन गरेर माग दर्ता गर्न सकिने प्रवक्ता लामिछानेले बताए । ग्राहकलाई निरन्तर सेवा उपलब्ध गराउन सार्वजनिक बिदा तथा चाडपर्वका दिनसमेत काउन्टर खुला राखिएको उनले जानकारी दिए ।

राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर लाभ र लागतको हिसाबभन्दा पनि दुर्गम तथा अतिदुर्गम क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिइएको टेलिकमको भनाइ छ । फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

टेलिकमको फाइबर सेवाबाट एउटै तारमार्फत उच्च गतिको इन्टरनेट, रोजेको च्यानलसहितको टेलिभिजन, टेलिफोन र मोबाइल डाटासमेत प्रयोग गर्न सकिने व्यवस्था छ । एउटै माध्यमबाट चारवटासम्म सुविधा उपलब्ध हुने भएकाले कम्पनीले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ ।

अब टेलिभिजन हेर्न छुट्टै सेट–टप बक्स नचाहिने

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवामा स्मार्ट टिभी प्रयोगकर्ताका लागि थप सुविधा ल्याएको छ । अब एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा छुट्टै ‘सेट–टप बक्स’ नराखी टेलिभिजन सेवा प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीले असोज १५ गतेदेखि हाललाई एन्ड्रोइड टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ उपलब्ध गराएको हो । ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टिभीमा गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटीभी’ खोजेर एप इन्स्टल गरी यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । ग्राहकलाई थप सहज हुने गरी सेवा विकास गरिएको उनकाे भनाइ छ ।

नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा रु एक हजार छुट दिने व्यवस्था पनि टेलिकमले गरेको छ । एनटी फाइबरमार्फत टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा एउटै तारबाट उपलब्ध गराउँदै आएको टेलिकमले भर्चुअल सेट–टप बक्ससहितका विभिन्न टेलिभिजन प्याकेजसमेत सञ्चालनमा ल्याएको छ ।

वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटाको सुविधासमेत जोडिएकाले टेलिकमले इन्टरनेट, टेलिभिजन र टेलिफोनलाई एउटै सेवामा समेटेर ग्राहकलाई विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ ।