गण्डकी – बाढीपहिराका कारण पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। उडान सङ्ख्या सीमित हुँदा बढ्दो यात्रु चाप व्यवस्थापन गर्न कठिन भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए ।
उनका अनुसार पोखरा–जोमसोम रुटमा तारा र समिट एयरका ट्विनअटर जहाजले नियमित उडान गर्दै आएका छन्। यसअघि दुवै जहाजले दैनिक पाँच–पाँच उडान गर्दै आएकोमा अहिले यात्रुको चाप बढेपछि दैनिक सात–सात वटासम्म उडान भइरहेको छ।
“मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो,” शर्माले भने। अहिले मुख्य पर्यटकीय यामसमेत रहेकाले हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढेको उनले भने ।
स्रोहश्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल तथा भारतबाट हिन्दुमार्गीहरू पनि उल्लेख्य सङ्ख्यामा मुस्ताङ पुग्ने गर्छन्। यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीहरूले बिरामी तथा अशक्त यात्रुलाई प्राथमिकता दिइरहेका छन्। त्यस्ता यात्रु तथा विदेशी पर्यटकलाई सहज यात्रा गराउन स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत सहजीकरण गरिरहेको विमानस्थल प्रमुख शर्माले बताए ।
“पर्यटकीय याम भएकाले यसै पनि पोखरा–जोमसोम धेरै उडान हुने बेला हो। विपद्का कारण सडक अवरुद्ध भएपछि यात्रुको चाप थप बढेको हो,” उनले भने। सडकमार्ग सञ्चालनमा आएपछि यात्रुको चाप स्वतः घट्ने र हवाई यात्रा पनि सहज हुने उनकाे भनाइ छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोम विमानस्थलमा दिउँसोको समयमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानको समयमा मात्र हुने गरेका छन्। दिनभर उडान गर्न सकिने अवस्था भए यात्रुलाई थप सहज सेवा दिन सकिने भए पनि पोखरा–जोमसोम उडानमा त्यस्तो अवस्था नरहेको उनले बताए ।
अधिकांश उडान मध्याह्न १२ बजेअघि नै हुने गरेको रावतले जानकारी दिए । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। कम दृश्यता हुने भएकाले हरेक वर्षायाममा पोखरा–जोमसोम उडान बन्द हुने गरेको छ।
असोज ८ देखि ११ गतेसम्म भएको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याउँदै अवरुद्ध बनाएपछि अहिले पोखराबाट मुस्ताङ जाने हवाई मार्ग एकमात्र विकल्प बनेको छ। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक १२ दिनदेखि अवरुद्ध रहे पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।



