कोरला सडक खुल्दै, तर जोखिम कायमै : ५०० भन्दा बढी कन्टेनर गन्तव्यको प्रतीक्षामा

म्याग्दी – चीनसँगको कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । तर, बाढीपहिरोले क्षतविक्षत बनाएको सडकमा नियमित, सहज र सुरक्षित यातायात सञ्चालन गर्नु चुनौतीपूर्ण देखिएको छ । सडकको प्रारम्भिक मर्मत पूरा भए पनि पहिरो पन्छाउने, भासिएका र कटान भएका ठाउँमा सडक भर्ने तथा सतह मिलाउने काम बाँकी रहेकाले तत्कालै सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाकासम्म पुग्ने २०२ किलोमिटर लामो सडक असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । सडकका विभिन्न ५० स्थानमा पहिरो खसेको, सडक भासिएको र १० स्थानमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो । अहिले ती क्षतिग्रस्त खण्डको मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सडक पुलको पहुँचमार्ग निर्माण भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग पुनःनिर्माण गर्नु चुनौतीपूर्ण बनेको थियो । ती स्थानमा आवागमनको बाटो खुले पनि सडकको अवस्था पूर्ण रूपमा सुरक्षित भइसकेको छैन ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार अहिले इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा राहत सामग्री बोकेका सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था छ । सडकको पूर्ण मर्मत नसकिएकाले अन्य सवारीसाधनको नियमित आवागमन भने सहज हुन सकेको छैन ।

“प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेभल मिलाउने, क्रसिङ बनाउन बाँकी छ,” शर्माले भन्नुभयो, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोलालगायत स्थानमा कालीगण्डकीको कटान तथा पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । यी स्थानमा सडक पुनःस्थापना गरी सुरक्षित आवागमन सुनिश्चित गर्न थप काम गर्नुपर्ने देखिएको छ ।

३३ किलोमिटरमध्ये २० किलोमिटर सडक क्षतविक्षत

म्याग्दी खण्डमा हालै कालोपत्र गरिएको तथा पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको सडकसमेत बाढीपहिरोले क्षति पुर्‍याएको छ । म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटरभन्दा बढी सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

उनका अनुसार कोरलानाका चीनसँग सञ्चालनमा रहेको एकमात्र नाका भएकाले सरकारले सडक पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिएको छ । अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालन गर्ने तयारी भए पनि सडकलाई पुरानै अवस्थामा फर्काउन ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने उनकाे भनाइ छ ।

“रु ९० करोड बराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ,” सुवेदीले भने ।

बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहनुभएका सुवेदीका अनुसार योजनाको काम सुरु भएयताकै ठूलो क्षति यसपटकको बाढीले गरेको हो । अत्यधिक वर्षा, सहायक सडक भत्किनु, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सिर्जना हुनु तथा सहायक नदीमा बाढीको सतह बढ्नुलगायत कारणले कालीगण्डकीमा बाढीको आयतन बढेर ठूलो क्षति पुगेको उनले बताए ।

५०० भन्दा बढी कन्टेनर बाटोमै रोकिए

सडक अवरुद्ध हुँदा कोरलानाकाबाट दसैँलाई लक्षित गरी आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा रोकिएका छन् । भन्सार जाँचपास गरिसकेका ती कन्टेनर गन्तव्यसम्म पुग्न नसक्दा चाडपर्व लक्षित आपूर्ति व्यवस्थामा समेत चुनौती थपिएको छ ।

कोरलानाकाबाट हुने मालसामानको ढुवानी, मुस्ताङको स्याउ र आलुको निकासी, पर्यटकीय याम तथा दसैँतिहारजस्ता ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायातको चापलाई व्यवस्थापन गर्न आवश्यक तयारी भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

उनका अनुसार अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर सञ्चालन गर्नुपर्ने अवस्था छ । सवारीसाधनको जाम हुन नदिन साँघुरा तथा जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने विषयमा समेत छलफल भएको छ ।

“अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी गैरेले भने ।

सडकको अवस्था सहज नहुँदासम्म अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर तथा स्याउ र आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले घुमघामका लागि आउने पर्यटकलाई केही दिन आफ्नो भ्रमण योजना पछि सार्न उनले अनुरोध गरेका छन् ।

सडक सञ्चालनका लागि सुरक्षा निकायको अनुगमन

सडकमा यातायात सञ्चालनको तयारी र व्यवस्थापनका लागि गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी तथा सुरक्षा निकायका उच्च अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री, सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह र म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीलगायत जिल्ला तहका सुरक्षा अधिकारी सहभागी हुनुहुन्थ्यो ।

सरोकारवालाको सुझावका आधारमा शुक्रबार बिहान म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालनलाई व्यवस्थित बनाउने विषयमा छलफल गरी कार्ययोजना तयार गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

सडकको मर्मतकार्य अन्तिम चरणमा पुगे पनि यसको पूर्ण पुनःस्थापना र सुरक्षित आवागमन सुनिश्चित गर्न थप काम आवश्यक छ । दसैँतिहारको चहलपहल, कोरलानाकाबाट हुने व्यापार, मुस्ताङको कृषि उपजको निकासी र पर्यटकको आवागमनलाई सहज बनाउन सडक सञ्चालनसँगै सवारी व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ ।