तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर – महाकाली र जोगबुढा नदीको बाढी तथा कटानबाट वर्षौंदेखि जोखिममा रहँदै आएको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती पक्की तटबन्ध निर्माणपछि सुरक्षित बनेको छ । हरेक वर्ष बाढीको त्रासमा दिनरात बिताउन बाध्य स्थानीयवासी तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन् ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदी रहेको कुतियाकवर बस्ती दुवै नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । नदीको बहावले खेतीयोग्य जमिन कटान गर्ने र बस्तीमा बाढी पस्ने जोखिम बढ्दै गएपछि यहाँका कतिपय परिवारले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँसमेत सरेका थिए । अहिले दुवै नदीमा पक्की तटबन्ध निर्माण भएपछि बस्ती संरक्षण हुने आशा स्थानीयमा पलाएको छ ।

स्थानीय टेकबहादुर सुनारका अनुसार बाढी र नदी कटानले बस्ती नै जोखिममा परेपछि धेरै परिवार अन्यत्र जान बाध्य भएका थिए । “बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए,” उनले भने “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ, अब बस्तीमा बाढी पस्ने डर छैन ।”

गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि स्थानीयवासीले विगतको तुलनामा सुरक्षित महसुस गरेका छन् । बर्सेनि बाढीले घरजग्गा र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउने समस्याबाट केही राहत मिल्ने अपेक्षा उनीहरूको छ ।

स्थानीय मोतिराम सुनारले पनि तटबन्ध निर्माणले बस्तीमा सुरक्षाको अनुभूति बढाएको बताए । तर, बस्तीलाई सडक सञ्जालसँग सहज रूपमा जोड्न जोगबुढा नदीमा पक्की पुल निर्माण हुनुपर्ने उहाँको माग छ ।

“पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ, अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो,” उनले भने, “अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ ।”

तटबन्धले जोगायो बस्ती, अब सम्पत्तिको सुरक्षामा आशा

कुतियाकवरमा बाढीबाट जोगिन दुईवटा सुरक्षित आश्रयस्थलसमेत निर्माण गरिएका छन् । ती आश्रयस्थलले बाढीका बेला मानिसको ज्यान जोगाउन सहयोग गरे पनि घरमा राखिएका अन्नपात, लत्ताकपडा र पशुचौपायालाई क्षति हुनबाट जोगाउन कठिन हुने गरेको थियो ।

स्थानीय सुक्कादेवी सुनारका अनुसार विगतमा बाढी बस्तीमा पस्दा घरमा राखिएका अन्न र लत्ताकपडा नष्ट हुने गरेका थिए । “विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गर्थ्यो,” उनले भने, “तटबन्ध बनेपछि हामी ढुक्क छौँ ।”

महाकाली नदीको बाढीले कुतियाकवर आसपासको खेतीयोग्य जमिन बर्सेनि कटान गर्दै आएको थियो । खेतीयोग्य जमिन गुम्ने र बस्ती नै जोखिममा पर्ने समस्याका कारण स्थानीयवासी लामो समयदेखि नदी नियन्त्रणका लागि स्थायी संरचना निर्माणको माग गर्दै आएका थिए ।

पाँच करोडभन्दा बढी लागतमा ८१६ मिटर तटबन्ध

स्थानीयवासीको बस्ती र खेतीयोग्य जमिन संरक्षण गर्ने उद्देश्यले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा गरी ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो । उक्त संरचना निर्माणमा पाँच करोड १६ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ ।

आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले तटबन्ध निर्माणपछि स्थानीयवासीमा बाढीको त्रास कम भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पनि कुतियाकवरका जोखिमयुक्त स्थानमा थप काम गर्ने योजना छ ।

“तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ,” भट्टराईले भने, “चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।” उनले स्थानीयवासीको मागअनुसार बस्ती संरक्षणका लागि आवश्यक अन्य संरचनासमेत निर्माण गरिने जानकारी दिए ।

पक्की तटबन्ध निर्माणले कुतियाकवरवासीलाई बाढी र कटानबाट राहत मिल्ने आधार तयार गरेको छ । यद्यपि, बस्तीलाई अझ सहज र सुरक्षित बनाउन जोगबुढा नदीमा पक्की पुल निर्माण, जोखिमयुक्त क्षेत्रमा थप तटबन्ध तथा अन्य संरक्षण संरचना विस्तार गर्नुपर्ने स्थानीयको अपेक्षा छ ।