यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

काठमाडौँ, चैत १३ गते । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।

रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ । उहाँले भन्नुभयो, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गरिएको छ, ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ । यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायत रु २५ लाख बजेट रहेको उहाँले जानकारी दिनुभयो । २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।