आज सोह्र श्राद्धको समापन

काठमाडौँ – दिवंगत पितृको सम्झना र सम्मानमा गरिने सोह्र श्राद्ध आज समापन हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण आमावास्या अर्थात् औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गर्न लागिएको हो।

पितृ पक्षका अवसरमा दिवंगत पितृको सम्झनामा श्राद्ध गर्ने धार्मिक परम्परा छ। आश्विन कृष्ण प्रतिपदादेखि आमावास्यासम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बुबाको श्राद्ध भने आइतबार गरिनेछ।

पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। आज पनि कुनै कारणले श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताएका छन् ।

उहाँका अनुसार निर्धारित समयमा सोह्र श्राद्ध गर्न नसकिएमा शास्त्रमा वैकल्पिक व्यवस्था पनि गरिएको छ। आश्विन शुक्ल पञ्चमीसम्म पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। लक्ष्मीपूजाका दिनसमेत श्राद्ध गर्न नसकिएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त समय मिलाएर गर्न सकिने शास्त्रीय मान्यता रहेको उनले बताए ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि पनि श्राद्ध गर्न नसकिएकाहरूका लागि धर्मशास्त्रमा थप विकल्प उल्लेख गरिएका छन्। निर्णयसिन्धु र धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेको समयमा जुनसुकै तिथि भए पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने व्यवस्था रहेको उनले बताए ।

यी विकल्पमा पनि श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्र दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको प्राडा भट्टराईले जानकारी दिएका छन् ।

सोह्र श्राद्धका अवसरमा पितृप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्न विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका तीर्थस्थलमा पितृको सम्झनामा श्राद्ध गर्ने परम्परा छ।

पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक क्रम सुरु हुनेछ। असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष प्रारम्भ हुने भएकाले सोह्र श्राद्धको समापनपछि नेपाली समाज दसैँको उत्सवमा प्रवेश गर्नेछ।