महिलाहरुको सक्रियता र सहभागिता अनुसार सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन सकेन : सभामुख

काठमाडौं, फागुन १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले संसद र अन्य सङ्घसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताउनुभयो ।

उहाँले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढङ्गको सञ्चारमाध्यमहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढङ्गकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा होस् सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसार छैन ।’’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताउनुभयो । संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको उहाँको भनाइ छ । सभामुख घिमिरेले संसद्ले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको उल्लेख गर्नुभयो । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको गुनासो गर्नुभयो ।

‘‘महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिका अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनिहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभए पनि उनीहरुलाई अभिमुखीकरण दिने र उहाँहरुलाई सञ्चारमाध्यममा मैत्रीपूर्ण बनाउन के सहयोग गर्नुपर्छ ? भनेर हामीले योजना बनाएका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘ मिडियाहरुको आकर्षण अहिले खास खास नेताहरु बोल्ने दिन छ भने सञ्चारमाध्यमको उपस्थिति देखिन्छ ।

नभए करिब शून्य हुन्छ । तर सक्रियता कम छ । महिलाहरुको सहभागिता कम छ । महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ । अहिले सञ्चारमाध्यहरुले विषयवस्तुमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनुभयो । उहाँले संसद् सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको औंल्याउनुभयो ।