कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, फागुन २१ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ ।

पचास वर्षको झापा विद्रोहका सन्दर्भमा सहिद भएकाहरुको स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुनःनिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो ।

“विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरुका प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ”, जारी वक्तव्यमा भनिएको छ ।

राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र सङ्कुचन, मन्दी र सङ्कटको चरणबाट गुज्रिएको र विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानीकारक नीतिका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको बताउनुभयो ।
“विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारिँदा, जनताको सेवाप्रवाहमा बाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन्”, उहाँले भन्नुभयो ।

राजनीतिमा जवाफदेहिता, पारदर्शीता, विश्वसनीयता र मूल्यको केही अर्थ छैन भन्ने जस्ता विकृतिलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको उहाँको भनाइ छ ।

सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यको विघटन तीव्र बन्दै गएको भन्दै अध्यक्ष ओलीले यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्ति सलबलाई रहेको र अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको दाबी गर्नुभयो ।

बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव भएको भन्दै उहाँलेस्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति हुने बताउनुभयो ।

“कम्युनिष्ट आन्दोलनलाई विभाजित गरी पुँजीवादीलाई नेतृत्वमा स्थापित गर्ने, दक्षिणपन्थी शक्ति बलियो बन्दा गौरवबोध गर्ने तथा सत्तालिप्सा, आत्मसमर्पण र कम्युनिष्ट आदर्शको स्खलनका माध्यमबाट आन्दोलनलाई भित्रैदेखि समाप्त पार्ने दक्षिणपन्थी अवसरवाद अहिले कम्युनिष्ट आन्दोलनको सशक्तीकरणका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ”, अध्यक्ष ओलीले भन्नुभयो ।