पर्यटकको पर्खाइमा राराका घोडा व्यवसायी

मुगु, फागुन २३ गते । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने ।

पिठ्यँुमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उहाँ आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्नुहुन्छ । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उहाँ दैनिक रारा पुग्नुहुन्छ । जहान परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उहाँ रारामा दौडिने गर्नुहुन्छ ।

पर्यटक नआउँदा उहाँको मन सुख्खा रोटीसँगै खाएको पिरो खुर्सानी जस्तै पिरो हुन्छ । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँनुहुन्छ । विगतका वर्षहरुमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए । । तर, अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्या पनि कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन गुजरा चलाउन सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ–धौ रहेको उहाँको भनाई छ ।

रारा तालमा घुम्न आउनेको संख्यामा कमि भएपछि मुगुका घोडा व्यवसायीको पनि रोजगारीमा समस्या भएको हो । दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेको अर्का घोडा व्यवसायी पप्पु तिरुवाले बताउनुहुन्छ ।

उहाँका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दर रेट निर्धारण नहँुदा पर्यटकहरू ठगिने गरेका छन् ।

रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ । हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १० देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताउनुभयो ।