उपराष्ट्रपतिको पदमा नागरिक उन्मुक्तिको पनि दाबी, रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं, फागुन २६ गते । उपराष्ट्रपतिको पदमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयसमेत गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो ।

तर गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।

‘निर्वाचन आयोगले समेत उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेकाले हामीले महिलालाई नै उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका हौं’,नाउपाका प्रमुख सचेतक चौधरीले भन्ुभयो ।