स्ववियुको नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो ।

केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो÷ढिलो हुनसक्ने त्रिविले जनाएको छ ।

स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हुन्छ ।