स्थानीय तहको अटेर

काठमाडौँ, चैत १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाजका लागि स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा नै फर्काउने गरिएको छ ।

आर्थिक वर्षको मध्यमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा योजना कार्यान्वयन गर्न, भुक्तानी दिन र सेवा प्रवाहमा समेत समस्या पर्ने भन्दै स्थानीय तहले मन्त्रालयद्वारा पठाइएका कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा फिर्ता पठाउने गरेको पाइएको छ । पछिल्लो समय ३० वटा स्थानीय तहले कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा नै फिर्ता पठाएको मन्त्रालयले जनाएको छ ।

खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन र सोको जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित स्थानीय तहको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरिएको छ ।

मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहमा अधिकांश नगरपालिका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा आर्थिक वर्षको मध्यमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा स्थानीय तहको काम अस्तव्यस्त हुने भएकाले हाजिर नगराइएको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र पठाउनुपर्छ ।

मन्त्रालयका प्रशासन शाखाका उपसचिव खिलराज राईले कतिपय स्थानीय तहले अटेर गरेर कर्मचारीलाई हाजिर नगराइ मन्त्रालयमा नै फिर्ता पठाएकाले स्थानीय तहमै हाजिर गराउन सबै स्थानीय तहलाई आग्रह गरेको बताउनुभयो ।