उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन

काठमाडा, चैत २२ गते । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ ।

निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ निर्णय गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।

गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो ।