किसानको वर्गीकरण गर्दै पोखरा महानगर

कास्की, चैत २३ गते । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो ।

उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको महानगर स्रोतले जनाएको छ । महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सबै वडामा किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले वडा नं २५ हेम्जाका किसानको सूचीकरण भइसकेको बताउनुभयो ।

“आलु महोत्सवको अवसरमा यसै हप्ता हेम्जाका किसानलाई परिचयपत्र वितरण गर्दैछौँ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “किसान वर्गीकरण र परिचयपत्र वितरण कार्यक्रम अब निरन्तर चल्छ ।”

हेम्जाका एक हजार ८०९ किसान सूचीकृत भएका छन् । किसानको वर्गीकरणका लागि महानगरले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट छुट्याएको छ । सो कामलाई छिटो सक्न महानगरले थप गणक पनि माग गरेको छ । महाशाखा प्रमुख कडरियाले सूचीकरण परेका किसानले मात्र महानगरबाट अनुदान र सहायता पाउने बताउनुभयो ।

“परिचयपत्रले किसानलाई पहिचान दिन्छ, राज्यका निकायबाट सेवासुविधा पाउने आधार पनि परिचयपत्र हो”, उहाँले भन्नुभयो, “यसले वास्तविक किसान लाभान्वित हुन्छन्, अनुदान वितरणमा देखिने गरेको वेथिति पनि अन्त्य हुन्छ ।”

वर्गीकरणका आधारमा किसानले राज्यलाई तिर्नुपर्ने करलगायतका दायित्व र पाउने सेवासुविधा निर्धारण हुनेछ । महानगरको कृषि प्रणालीमा सूचीकृत भएपछि योजना तथा कार्यक्रमका लागि हरेक पटक कागजात बुझाउनुपर्नेलगायत झन्झटबाट किसानले मुक्ति पाउने छन् ।