सुन्दबजार नगरपालिकामा ३३ प्रतिशत मात्र योजना सम्पन्न

लमजुङ चैत २४ गते । लमजुङको सुन्दबजार नगरपालिकामा चालु आर्थिक वर्षको करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । नगरपालिकाले यो वर्ष भित्र कार्यान्वयन हुने गरी सम्झौता गरेका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएको स्रोतले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी वडा वडामा छनौट भएका योजना मध्ये ३३ प्रतिशतले भुक्तानी लिइसकेको योजना शाखाका प्रमुख ऋषिराम पौडेलले जानकारी दिनुभयो । नगरपालिकामा वडागत योजना मध्ये १ सय ५० योजना सम्झौता भएकोमा हालसम्म ३२.९० प्रतिशत अर्थात् ४९ योजना मात्र सम्पन्न भएको उनले बताए ।

नगरपालिकाका ११ वडामा चालु वर्षभित्र सम्पन्न हुनेगरी सम्झौता भएका योजनामा सवैभन्दा धेरै वडा नंं. १ र ६ मा २२÷२२ वटा योजना रहेका छन् । ती मध्ये १ मा १० वटा र वडा नंं ६ मा ६ वटा योजना सम्पन्न भई भुक्तानी समेत गरिएको नगरपालिका योजना शाखाले जनाएको छ । त्यस्तै वडा नं. ९ मा १९ योजना सम्झौता भएकोमा ११ वटा फछ्र्यौट भइसकेको छ । वडा नं ७ र १० मा हालसम्म कुनै पनि योजना सम्पन्न नभएको योजना योजना शाखाले जनाएको छ ।

सोबाहेक वडा नंं २ मा चार, ३ मा चार, ४ मा तीन, ५ मा छ, ८ मा चार र वडा नंं ११ मा छ वटा योजना सम्पन्न भई भुक्तानि समेत लिइसकेको बताइएको छ । त्यस्तै वडा नंं ७ र ९ को साझा एक योजना पनि फर्छ्यौट भएको छ । योजना शाखाका अनुसार हालसम्म सम्झौता भएका योजनामध्ये ९ वटा योजना भुक्तानी प्रक्रियामा रहेको र ८८ योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

नगरपालिकाले योजना सम्झौताको अन्तिम मिति यहि चैत २५ गते सम्मलाई तोकेको छ । यसअधि सम्झौता भएका तथा अव सझौता हुने योजनाहरु आगामी जेठ मसान्तसम्म कार्यान्वयन गरिसक्नुपर्ने समयसिमा तोकिएको छ ।

आर्थिक वर्षको अन्त्यसम्म पुग्दा आयोजनाहरु राम्रो नहुने भन्दै अधिकाशं स्थानीय तहले चैत मसान्तभित्रमा सवै योजना सम्पन्न गर्ने समयसिमा तोकेका छन् । तर चैत सकिनै लाग्दा पालिकाहरुमा ५० प्रतिशत पनि योजना सम्पन्न नहुदाँ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि असार मसान्तमा हतार हतार काम गरी भुक्तानिका लागि चटारो हुने देखिएको वताइन्छ ।

असार १५ गते भित्रमा सम्झौता भएका सवै योजना सम्पन्न गरी भूक्तानि लिइसक्नुपर्ने प्रावधान रहेकोले कार्यान्वयनको चरणमा रहेको योजनाहरुको काम समयमै सम्पन्न गर्न नगरपालिकाले ताकेता गर्दै आएको योजना शाखाले जनाएको छ ।