अझै पुनर्निर्माण भएन त्रियुगा पुल

गाईघाट, चैत २६ गते । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि चौदण्डीगढी नगरपालिका वडा नम्बर ५, सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन।

नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्ही जोड्ने गरी १३ वर्षअघि अर्थात् २०६६ सालमा निर्माण सुरु भएको सो मोटरेबल पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो।

स्थानीय सर्वसाधारणले नगरपालिकाको सदरमुकाम बेल्टार जान वर्षाैंदेखि त्रियुगा नदी वारिपारि गर्ने क्रममा अनेकौँ कष्ट र सास्ती खेपिरहेको अवस्थामा निर्माण सम्पन्न हुनैलाग्दा भत्किएको पुल दुई वर्ष बितिसक्दा पनि हालसम्म पुनर्निर्माणको कुनै सुरसार छैन । पुल क्षतिग्रस्त भएको यति धेरै समय बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्नु मन्त्रालय र विभागकै बेवास्ता भएको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताउनुभयो ।

नेपाल सरकारको करिब ११ करोड २७ लाख रुपियाँ लागत रहेको १२ स्पान ३०७ मिटर लम्बाइको उक्त पुलमा साढे पाँच मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको छ। सुरुमा नौ करोड ७६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको तर मूल्य समायोजनका कारण लागत रकम बढ्दै जाँदा ११ करोड २७ लाख रुपियाँ पुगे पनि पुलको हबीगत भने जस्ताको तस्तै छ। यसले गर्दा स्थानीय बासिन्दाले निकै सास्ती खेप्नु परिरहेको स्थानीय बासिन्दा रामकुमार चौधरीले बताउनुभयो।

निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको उक्त पुलको पिलर नै भासिनुको कारण के हो भनी अध्ययन अनुसन्धानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक टोली गठन गरेको थियो। पुल भत्किएको १५ दिन नबित्दै मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण अनुसन्धान कार्यालय दमकका सुपरिन्टेन्डेन्ट इन्जिनियर नवीनमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय प्राविधिक अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो।

यस्तै त्यस बेला सडक विभाग पुल महाशाखाका सिनियर इन्जिनियर ईश्वरबहादुर रिजाल र पुल नम्बर १ इटहरीका इन्जिनियर नीति झाको टोलीले सिवाईस्थित पुलको प्राविधिक अवलोकन गरेको थियो। प्राविधिक टोलीले अध्ययन गरेको लामो समय बितेपछि पनि काम सुरु नभएपछि वर्षामा थप सास्ती खेप्नुपर्ने चिन्ता स्थानीय बासिन्दामा बढेको स्थानीय बासिन्दा धनपति आचार्यले बताउनुभयो।

कुल ३०७ मिटर लम्बाइमा १२ वटा पिल्लर र ११ वटा स्ल्याब रहेको सो पुलको दक्षिण पश्चिम क्षेत्र सिवाईतर्फको दोस्रो र तेस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको छ। सिवाईतर्फको दोस्रो र तेस्रो पिल्लर भासिएपछि एउटा स्ल्याब नदीमा झरेर क्षतिग्रस्त भएको छ भने अर्को स्ल्याबमा पनि काम नलाग्ने गरी क्षति पुगेको छ।

पुलको सुपर स्ट्रक्चर राम्रो भए पनि जमिनमुनि समस्या भएकै कारण यस्तो भएको हुन सक्ने गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयका डिभिजन प्रमुख इन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो। हाल पाइल फाउन्डेसन डिजाइन पास भएको र मन्त्रिपरिषद्बाट भिओ पास गराउनुपर्नेमा के कति कारणबाट विभागमै फाइल रोकिएको हो थाहा नभएको उहाँले बताउनुभयो। गोरखापत्र दैनिक